अझै केहीदिन भारी वर्षाको सम्भावना, सतर्क रहन मौसमविद्को आग्रह

अझै केहीदिन भारी वर्षाको सम्भावना, सतर्क रहन मौसमविद्को आग्रह

मौसम पूर्वानुमान महाशाखाले अझै केहीदिन भारी वर्षा हुने सम्भावना रहेको बताएको छ ।आजदेखि मौसम विस्तारै खुल्ने महाशाखाले अनुमान गरेपनि मनसुनी न्यूनचापिय रेखा अझैपनि नेपालको तराई भूभाग नजिकै रहेकाले आगामी केहीदिन थप पानी पर्न सक्ने बताइएको छ ।

मौसमविद् प्रतिभा मानन्धरका अनुसार न्यूनचापीय रेखाको प्रभावले अहिले प्रदेश १, २, बाग्मती, गण्डकी र लुम्बिनी प्रदेशका केही स्थानमा पानी परिरहेको छ । आज दिउँसो देशको धेरै ठाउँमा हल्कादेखि मध्यम वर्षा हुँदा प्रदेश १, गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका थोरै स्थानमा भारी वर्षाको सम्भावना रहेको उहाँको भनाइ छ ।

यसैगरी आजराति प्रदेश १, बाग्मती, कर्णाली र सुदूरपश्चिम प्रदेशका थोरै स्थानमा भारी वर्षाको सम्भावना रहेको छ । मौसमविद मानन्धरले पर्सि बिहान मौसम केही खुलेपनि राति फेरि पानी पर्ने भएकाले बाढी, पहिरोको जोखिम निम्तिन सक्ने बताउनुभयो ।

उहाँले आगामी केहिदिन थप वर्षाको सम्भावना रहेकाले सतर्क रहन सबैलाई आग्रह समेत गर्नुभएको छ । यसैबीच आज नारायणी र यसका सहायक नदी कमला, बागमती, पूर्वी राप्ती, तिनाउ, पश्चिम राप्ती, बबई लगायतमा बाढी आउँने भएकाले आसपासका बासिन्दालाई सतर्कता अपनाउन बाढी पूर्वानुमान महाशाखाले अनुरोध गरेको छ ।

पछिल्लो ६ घण्टामा कपिलबस्तु जिल्लाको बाणगंगास्थित बर्षामापन केन्द्रमा भारी वर्षा मापन भएको र थप वर्षा हुने पूर्वानुमान रहेकोले बाणगंगा, गुडुङ लगायतका साना नदीमा एक्कासी बाढी आउन सक्ने भएकाले तटीय क्षेत्र तथा डुबान भइरहने क्षेत्रमा उच्च सतर्कता अपनाउन महाशाखाले अनुरोध गरेको छ ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार