बागमती प्रदेशकै बेरुजु कम आउने स्थानीय तहमा रामेछाप नगरपालिका पहिलो

बागमती प्रदेशकै बेरुजु कम आउने स्थानीय तहमा रामेछाप नगरपालिका पहिलो

बागमती प्रदेशका स्थानीय तह मध्ये बेरुजु कम आउनेमा रामेछापको रामेछाप नगरपालिका पहिलो नम्बरमा परेको छ । महालेखापरीक्षकको कार्यालयले शुक्रबार प्रकाशित गरेको ५८ औँ वार्षिक प्रतिवेदनमा १ सय १९ ओटा स्थानीय तह भएको बागमती प्रदेशको रामेछाप नगरपालिका प्रदेशका सबै स्थानीय मध्ये बेरुजु कम आउनेमा पहिलो नम्बरमा परेको हो ।

महालेखाले रामेछाप नगरपालिकाको आर्थिक वर्ष २०७६÷०७७ मा २ अर्व २ करोड २६ लाख १४ हजारको लेखापरिक्षण गर्दा ६० लाख ४१ हजार आर्थत ० दशमलब ३० प्रतिशत मात्रै बेरुजु आएको छ भने अन्य स्थानीय तहको ० दशमलव ४३ प्रतिशत भन्दा माथी रहेको छ ।

१ सय १९ स्थानीय तह भएपनि यो वर्ष ९८ ओटा स्थानीय तहहरुको मात्रै लेखापरीक्षण भएको छ । जसमा बेरुजु कम ल्याउने स्थानीय तहमा रामेछापको रामेछाप नगरपालिका पहिलो नम्बरमा हुँदा काभ्रेपलान्चोकको महाभारत गाउँपालिका दोस्रो, मकवानपुरको थाहा नगरपालिका तेस्रो, चितवनको कालिका नगरपालिका चौथो र सिन्धुलीको मरिण गाउँपालिका पाँचौ नम्बरमा परेका छन् ।

त्यस्तै सबै भन्दा बढी बेरुजु आउने स्थानीय तहको पहिलो नम्बरमा दोलखाको बैतेश्वर गाउँपालिका परेको छ । महालेखाले बैतेश्वर गाउँपालिकाको आर्थिक वर्ष २०७६÷०७७ मा ८८ करोड ५८ लाख ६० हजार रुपैयाँको लेखापरिक्षण गर्दा १२ करोड ४८ लाख ४२ हजार आर्थत १४ दशमलब ०९ प्रतिशत बेरुजु आएको छ ।

त्यस्तै सबै भन्दा बढी बेरुजु आउने अन्य चार स्थानीय तहमा क्रमशः काठमाण्डौँ महानगरपालिका, नुवाकोटको तादी गाउँपालिका, मकवानपुरको बागमती गाउँपालिका र मकवानपुरकै मनहरी गाउँपालिका रहेका छन् ।

१ सय १९ ओटा स्थानीय तह भएको बागमती प्रदेशमा रामेछापको १, सिन्धुपाल्चोकको ९, धादिङको ९ र नुवाकोटको २ गरी २१ स्थानीय तहको लेखापरीक्षण गर्न बाँकी रहेको महालेखापरीक्षकको ‘अन्ठाउन्नौं वार्षिक प्रतिवेदन–२०७८’ मा उल्लेख छ ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार