पेट्रोलियम पदार्थको भाउ फेरि बढ्यो

पेट्रोलियम पदार्थको भाउ फेरि बढ्यो

नेपाल आयल निगमले पेट्रोलियम पदार्थ र एलपी ग्यासको मूल्य फेरि बढाएको छ । गयराति १२ बजेदेखि लागू हुने गरी निगमले डिजेल, पेट्रोल र मटिटतेलसहित खाना पकाउने ग्यासको मूल्यमा वृद्धि गरेको निगमका प्रवक्ता विनितमणि उपाध्यायले जानकारी दिनुभयो ।

डिजेल, पेट्रोल र मटिटतेल प्रतिलिटर २ रुपैयाँले बढेको उहाँले बताउनुभयो । अब पेट्रोल प्रतिलिटर १ सय ३० रुपैयाँ, डिजेल तथा मटितेल १ सय १३ रुपैयाँ र हवाई इन्धन ८६ रुपैयाँ कामय भएको निगमका प्रवक्ता उपाध्यायले जानकारी दिनुभयो ।

एलपी ग्यासप्रति सिलिण्डर २५ रुपैयाँ बढाएर १ हजार ४ सय५० कायम गरिएको निगमले जनाएको छ ।निगमले हवाई इन्धनमा आन्तरिकतर्फको मूल्य पनि प्रतिलिटर २ रुपैयाँले बढाएको छ ।

हवाई इन्धन (अन्तर्राष्ट्रिय उडान)मा प्रति किलोलिटर अमेरिकी डलर १६ ले वृद्धि गरी नयाँ विक्री मूल्य अमेरिकी डलर ७ सय ७० प्रति किलोलिटर कायम गरिएको छ ।

इण्डियन आयल कर्पेरेसनबाट प्राप्त मूल्य सूचीअनुसार निगमले पेट्रोलियम पदार्थको स्वचालित मूल्य समायोजन गरिएको बताएको छ । गत असार ३० गते पनि निगमले मूल्य समायोजन गरेको थियो ।

यसैबीच, सत्तारूढ दल नेपाली काँग्रेसको विद्यार्थी संगठन नेविसंघले पेट्रोलियम पदार्थमा गरिएको मूल्यवृद्धि तत्काल फिर्ता लिन सरकारसित माग गरेको छ ।

आज बिहान एक विज्ञप्ति जारी गर्दै संघका महामन्त्री बलदेव तिमल्सिनाले उक्त मूल्यवृद्धिको भत्र्सना गर्नुभएको हो ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार