नेपालमा एकैदिन १ लाख ८१ हजार २५ जनाले लगाए कोरोनाविरुद्धको खोप

नेपालमा एकैदिन १ लाख ८१ हजार २५ जनाले लगाए कोरोनाविरुद्धको खोप

नेपालमा एकैदिन १ लाख ८१ हजार २५ जनाले कोरोनाविरुद्धको खोप लगाएका छन् । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका अनुसार गत २४ घन्टामा देशभर भेरोसेल र ज्यान्सिन गरेर १ लाख ८१ हजार २५ जनाले कोरोनाविरुद्धको खोप लगाएका हुन् । मन्त्रालयले कोरोनासम्बन्धी तथ्याङ्क सार्वजनिक गर्दै गत २४ घन्टामा देशभर १३ हजार ८ सय ११ कोरोना परीक्षण गर्दै ३ हजार १ सय २५ जनामा कोरोना भाइरसको सङ्क्रमण पुष्टि भएको बताएको छ ।

मन्त्रालयका अनुसार योसँगै नेपालमा आरटी पिसिआर विधिबाट ६ लाख ९९ हजार ६ सय ४९ जना र ६२ हजार ७ सय ८३ जनामा एन्टीजेन विधिबाट कोरोना सङ्क्रमण पुष्टि भएको छ । यस्तै गत २४ घन्टामा देशभर रहेका सक्रिय सङ्क्रमितमध्ये १ हजार ९ सय २५ जना स्वस्थ भएका छन् । योसँगै नेपालमा हालसम्म कोरोना सङ्क्रमणपछि निको हुनेको सङ्ख्या ६ लाख ५८ हजार १ सय २२ पुगेको छ ।

यस्तै गत २४ घन्टामा देशभर थप २३ जनाको कोरोनाका कारण मृत्यु भएको छ भने हाल देशभर ३१ हजार ६ सय २९ सक्रिय सङ्क्रमित रहेका छन् ।यसैबीच, सरकारले कोरोनाविरुद्धको खोप सम्बन्धी विवरण सार्वजनिक गरेको छ । हालसम्म नेपाल सरकारलाई प्राप्त खोपबारे विवरण स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले सार्वजनिक गरेको हो । मन्त्रालयका अनुसार हालसम्म नेपाललाई ५ करोड २२ लाख ८२ हजार खोप विभिन्न माध्यमबाट प्राप्त भएको छ । जसमा नेपालले खरिद गरेको र कोभ्याक्स सुविधामार्फत् आएका खोपहरु रहेका छन् ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार