आज साउन १५, खिर खाएर मनाईँदै

आज साउन १५, खिर खाएर मनाईँदै

आज साउन १५ गते, खिर खाएर साउन १५ मनाइँदै छ । वर्षा ऋतुका बेला असार १५ गते दही, च्युरा र साउन १५ मा खिर खाने परम्परा नेपाली समाजमा छ । साउने झरी पर्ने बेलामा तातो खिरले स्वास्थ्यलाई राम्रो गर्ने भएकाले खिर खाने गरिएको धर्मशास्त्रविद् एवं नेपाल पञ्चांग निर्णायक समितिका पूर्वअध्यक्ष प्रा. डा. रामचन्द्र गौतमले बताउनुभयो ।

उहाँका अनुसार संस्कृत भाषामा ‘पायस’ भनिने खिर सात्विक आहारमध्येमा उत्तम मानिने भएकाले पितृ एवं देव कार्यमा पनि यसलाई महत्वपूर्ण वस्तुका रुपमा वैदिक शास्त्रमा वर्णन गरिएको छ । चामल, सावधाना, सेवइ, मकै, गाजरलगायतको खिर बनाउने गरिन्छ ।

खिर दिवस मनाउने दुग्ध विकास बोर्डको निर्णय 

राष्ट्रिय दुग्ध विकास बोर्डले आज साउन १५ लाई खीर दिसवका रूपमा मनाउँदैछ । साउन १५ गते खिर खाने चलन पहिलादेखि चल्दै आएको हुनाले त्यसलाई मान्यता दिँदै राष्ट्रिय रूपमा खिर दिवसकै रूपमा मनाउने निर्णय गरेको बोर्डका कार्यकारी निर्देशक राजेन्द्र यादवले बताउनुभयो ।नेपालमा यसको प्रचलन परापूर्व कालदेखि नै चलिरहेको छ ।

धान रोपाइँ गर्ने कार्य असारभित्र सम्पन्न गरी कार्यमा ह्रास शक्तिलाई पुनर्जागरण प्रदान गर्न साउनमा खिर खाने चलन भएको बताइन्छ । खिर स्वस्थकर पौष्टिक खाद्य पदार्थ भएकाले यसबाट मानव शरीरलाई आवश्यक पर्ने सम्पूर्ण पौष्टिक तत्त्व पनि प्राप्त हुने हुनाले उपयोगी सिद्ध भएको बोर्डले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार