आज तुलसी रोप्ने दिन, चार महिनासम्म विशेष पूजा सुरु हुँदै

आज तुलसी रोप्ने दिन, चार महिनासम्म विशेष पूजा सुरु हुँदै

आज तुलसी रोप्ने दिन, प्रत्येक वर्ष आषाढ शुक्ल एकादशीका दिन घरघरमा तुलसीको बिरुवा सारेर चार महिनासम्म गरिने विशेष पूजा आराधना आजदेखि सुरु हुँदैछ । एक महिनाअघि ज्येष्ठ शुक्ल एकादशीका दिनमा घरघरको तुलसी मोठमा राखिएको दलको बिरुवा आज मोठमा सारिन्छ । सनातन वैदिक परम्पराअनुसार तुलसीलाई विष्णुको प्रतीकका रुपमा मानिन्छ । आजदेखि कार्तिक शुक्ल एकादशीका दिनसम्म तुलसीको विशेष पूजा हुन्छ ।

आषाढ शुक्ल एकादशीदेखि कार्तिक शुक्ल एकादशीसम्म चार महिना भगवान विष्णु क्षीरसागरमा शयन गर्ने भएकाले आजको दिनलाई हरिशयनी एकादशी भनिएको धर्मशास्त्रविद् प्रा डा रामचन्द्र गौतमले बताउनुभयो । भगवान् विष्णु शयन गर्ने चार महिनालाई चतुर्मासा पनि भनिन्छ ।

हरिशयनी एकादशीका अवसरमा आज बिहानैदेखि राजधानीको बूढानीलकण्ठ, उपत्यकाका चार नारायणलगायत देशभरका नारायण एवं विष्णु मन्दिरमा भक्तजनको भीड लाग्ने गरेकामा कोरोनाका कारण मन्दिरहरू बन्द गरिएको छ । मुख्य मन्दिर बन्द गरिए पनि विभिन्न स्थानमा छरिएर रहेको मन्दिरमा भने भक्तजनको भीड लागेको छ ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार