कोभिड १९ नियन्त्रणका लागि ‘स्मार्ट लक डाउन’तर्फ जाने सीसीएमसीको निर्णय

कोभिड १९ नियन्त्रणका लागि ‘स्मार्ट लक डाउन’तर्फ जाने सीसीएमसीको निर्णय

कोभिड १९ व्यवस्थापन निर्देशक समिति (सीसीएमसी) को दोस्रो बैठकले कोरोना सङ्क्रमणको जोखिम रोक्न अत्यावश्यक वस्तु उत्पादन र आपूर्तिसहित ‘स्मार्ट लक डाउन’तर्फ जाने निर्णय गरेको छ । अबको साता जारी निषेधाज्ञा कायम राख्दै त्यसपछिको अवस्था मूल्याङ्कन गर्ने र स्वास्थ्य मापदण्ड कडाइका साथ पालना गराइ केही क्षेत्र खुल्ला गर्ने निष्कर्ष निकालिएको छ ।

प्रधानमन्त्री एवं समितिका अध्यक्ष केपी शर्मा ओलीको अध्यक्षतामा गएराति अवेरसम्म बालुवाटारमा बसेको समितिको बैठकले नेपाली श्रमिक अधिक सङ्ख्यामा रहेका टर्की, कतार, साउदी अरेबिया, युएई , जापान र मलेशिया लगायतका देशहरूमा हवाइ उडान पुनः सञ्चालन गर्ने निर्णय गरेको छ ।

यी देशहरूबाट सातामा दुई हजार जना भन्दा नबढ्ने गरी हवाइ उडान सञ्चालन गर्नुपर्नेछ । बैठकले वैदेशिक रोजगारीमा गएका तर विभिन्न कारणले होटलमा क्वारेन्टाइनमा बस्न नसक्ने कामदारका लागि सहयोग रकम उपलब्ध गराउने निर्णयसमेत गरेको छ । कुल १५ दिन बस्नुपर्ने क्वारेन्टाइनका लागि १० दिनसम्मको खर्च सरकारले व्यवस्थापन गर्नेछ ।

बैठकले सीसीएमसी केन्द्रको प्रशासनिक कार्यका लागि बजेट व्यवस्था गर्ने तथा निर्माण क्षेत्र र अत्यावश्यक उद्योगलाई स्वास्थ्य मापदण्ड पालनाका साथ खोल्न दिइने निर्णय गरेको छ । गैरआवासीय नेपालीहरूबाट पठाइन लागेको अक्सिजन सिलिन्डर ल्याउन हवाई ढुवानी भाडा सरकारले उपलब्ध गराउने एवं इजरायल सरकारबाट सहयोगस्वरुप दिन लागिएको सघन उपचारमा प्रयोग हुने सामग्री स्वीकार गर्ने निर्णय पनि बैठकले गरेको छ ।

बैठकमा प्रधानमन्त्री ओलीले स्वास्थ्य मापदण्डमा कडाइ गर्दै लकडाउनलाई सक्रमणको जोखिम नहुने हदसम्म मात्र खुकुलो गर्न सकिने बताउनु भएको थियो । कोभिड नियन्त्रणका लागि सबैभन्दा महत्वपूर्ण र अनिवार्य खोप नै भएको उल्लेख गर्दै उहाँले त्यसका लागि ४० लाख डोज खोप ल्याउन गृहकार्य भइ रहेको अनि आगामी साउनदेखि लगाउन थालिने बताउनुभयो ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार