सङ्क्रमण दर धेरै भएका जिल्लामा १५ दिन निषेधाज्ञा गर्ने सरकारको निर्णय

सङ्क्रमण दर धेरै भएका जिल्लामा १५ दिन निषेधाज्ञा गर्ने सरकारको निर्णय

नोबेल कोरोनाभाइरस (कोभिड–१९) को सङ्क्रमण दर तीव्र गतिमा बढेका जिल्लामा सरकारले १५ दिन निषेधाज्ञा गर्ने निर्णय गरेको छ । हिजो साँझ प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा बसेको मन्त्रिपरिषद् बैठकले सङ्क्रमण दर धेरै भएका जिल्लामा १५ दिनको निषेधाज्ञा जारी गर्ने निर्णय गरेको परराष्ट्र मन्त्री प्रदीप ज्ञवालीले जानकारी दिनुभयो ।

त्यसअघिबाँके, बर्दिया, काठमाडौँ, ललितपुर, भक्तपुर लगायतका जिल्लामा १ हप्ताका लागि निषेधाज्ञा गर्ने निर्णय सम्बन्धित जिल्लाबाट भइसकेको थियो । यी जिल्लामा अब यो निषेधाज्ञाको समयावधि मन्त्रिपरिषद्को निर्णय अनुसार १५ दिनसम्म पुग्नेछ । काठमाडौँ, भक्तपुर र ललितपुर प्रशासनले पर्सिदेखि वैशाख २२ गते मध्यरातिसम्मका लागि निषेधाज्ञा जारी गर्ने निर्णय गरेका छन् भने बाँके र बर्दियामा गएरातिदेखि नै निषेधाज्ञा जारी भएको छ ।

कोभिड सङ्कट व्यवस्थापन केन्द्र (सीसीएमसी) ले महामारीको जोखिममा रहेका क्षेत्रमा निषेधाज्ञा आदेश जारी गर्न मन्त्रिपरिषद्लाई सिफारिस गरेको थियो । कोरोना विरुद्ध निषेधाज्ञा जारी गर्ने जिल्लाको सङ्ख्या हालसम्म ९ पुगेको मृहमन्त्रालयले जनाएको छ । निषेधाज्ञाको आदेश उल्लङ्घन गरेमा सङ्क्रामक रोग ऐन् अन्तर्गत कारबाही अघि बढाउन स्थानीय प्रहरी प्रशासनलाई गृहमन्त्रालयले निर्देशन दिइएको जनाएको छ ।

सार्वजनिक तथा निजी सवारी साधन, खाद्य र स्वास्थ्य सामग्री बाहेकका व्यवसाय, सबै किसिमका सभा–सम्मेलन, गोष्ठी, तालिम, सेमिनार, सिनेमाहल, पार्टी प्यालेस, स्विमिङ पुल, सपिङ मल, मनोरञ्जन स्थलले निषेधाज्ञा पालना गर्नुपर्नेछ । सैलुन÷ब्युटीपार्लर, जिमखाना, समूहमा खेलिने खेल, पुस्तकालय, सङ्ग्रहालय, चिडियाखाना, अत्यावश्यक बाहेकका सरकारी र निजी कार्यालयले पनि पालना गर्नुपर्ने सरकारले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार