पार्टीको मर्म अनुसार अघि बढे जिम्मेवारी दिइने एमाले अध्यक्ष ओलीको भनाइ

पार्टीको मर्म अनुसार अघि बढे जिम्मेवारी दिइने एमाले अध्यक्ष ओलीको भनाइ

नेकपा एमालेका अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओलीले गल्ती महशुस गरेर पार्टीको मर्म अनुसार अघि बढ्ने नेता कार्यकर्तालाई जिम्मेवारी दिइने बताउनुभएको छ । नेपाल कम्युनिस्ट पार्टीको ७३ औँ स्थापना दिवस तथा लेनिन जयन्तीको अवसर पारेर आज बल्खुमा आयोजित केन्द्रीय कार्यालय भवन शिलान्यासपछि सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले पार्टीविरुद्ध उपद्रो गरेर हिँड्दा पनि कारबाही नगरेर सम्झाउने प्रयास गरिएको बताउनुभयो ।

गल्ती महसुस गरेर अनुशासनमा काम गर्ने हो भने पार्टीमा काम गर्ने अवसर दिन चाहिरहेको बताउँदै ओलीले यसलाई कसैले कमजोरी नठान्न पनि अनुरोध गर्नुभयो । कसैले गुटको प्रतिनिधित्व गर्दै कुरा गर्न खोजे त्यो सम्भव नहुने प्रधानमन्त्रीको भनाइ थियो । प्रधानमन्त्री ओलीले मौका पाउनासाथ प्रचण्ड–माधव पक्षले कम्युनिस्ट आन्दोलन सिध्याउन आफूलाई साधारण सदस्यबाटै निकालेको उल्लेख गर्नुभयो ।

यसैबीच एमालेअध्यक्ष ओली र नेता माधवकुमार नेपालबीचको भेटवार्ता सकिएको छ ।दुई नेताबीच काठमाडौँको मेरियट होटलमै आज डेढ घण्टा कुराकानी भएको छ । डेढ महिना लामो सम्वादहीनता तोडेर हिजो पनि दुई नेताबीच कुराकानी भएको थियो । त्यसको भोलिपल्ट आज पनि दुई नेताबीच कुराकानी भएको हो । भेटपछि सञ्चारकर्मीलाई छोटो प्रतिक्रिया दिँदै नेता नेपालले कुराकानीमा कुनै प्रगति नभएको जानकारी दिनुभयो ।

पार्टीको विवाद छलफलबाटै समाधान गर्न नेपाल समूहका स्थायी कमिटी सदस्यहरूको आग्रह 

नेकपा एमालेका नेता माधवकुमार नेपाल समूहका स्थायी कमिटी सदस्यहरूले सामूहिक रूपमा अपील जारी गर्दै पार्टीको विवाद छलफलबाटै समाधान गर्न सकिनेमा जोड दिएका छन् । कम्युनिष्ट पार्टी स्थापना दिवसको अवसर पारेर १५ नेताहरूले जारी गरेको अपीलमा अदालतको फैसलाअनुसार, एमाले २०७५ जेठ २ अगाडिको अवस्थामा फर्कनुपर्ने उल्लेख गरिएको छ । अपीलमा नवौँ महाधिवेशनबाट पारित कार्यक्रमका विरोधी ओली नेतृत्वमा आएपछि कार्यदिशा, विधान र विधि–पद्धति लत्याउनेतिर लागेको उल्लेख छ । अहिले ओली कम्युनिष्ट पार्टीलाई विसर्जन र विभाजनतिर लग्न खोजेको आरोप लगाइएको छ ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार