एकैदिन थपिए १७ सय ३६ जना कोरोना सङ्क्रमित

एकैदिन थपिए १७ सय ३६ जना कोरोना सङ्क्रमित

नेपालमा कोरोना भाइरस सङ्क्रमणका कारण थप ११ जनाको ज्यान गएको छ । पछिल्लो २४ घण्टामा तीन जना सङ्क्रमितको ज्यान गएको र यसअघि ज्यान गुमाएका आठ जनाको विवरण प्राप्त भएको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ ।

मङ्गलवार थपिएकासँगै नेपालमा कोरोनाका कारण ज्यान गुमाउनेको सङ्ख्या ३१ सय दुई पुगेको छ । यस्तै पछिल्लो २४ घण्टामा १७ सय ३६ जनामा कोरोना सङ्क्रमण पुष्टि भएको छ । आठ हजार सात सय ३८ जनामा परीक्षण गर्दा १७ सय ३६ जनामा सङ्क्रमण देखिएको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।

आठ हजार ५५ जनाको पीसीआर परीक्षण गर्दा १६ सय ६७ र ६ सय ८३ जनामा एन्टिजेन परीक्षण गर्दा ६९ जनामा सङ्क्रमण देखिएको हो । मङ्गलवबार थपिएकासँगै नेपालमा कोरोना सङ्क्रमण पुष्टि हुनेको सङ्ख्या दुई लाख ८७ हजार पाँच सय ६७ पुगेको छ । थप दुई सय ५१ जना निको भएसँगै सङ्क्रमणमुक्त हुनेको सङ्ख्या दुई लाख ७५ हजार आठ सय ६ पुगेको छ । सक्रिय सङ्क्रमितको सङ्ख्या आठ हजार ६ सय ५९ रहेको छ ।

पूर्वराजा ज्ञानेन्द्र शाह दम्पतीलाई कोरोना सङ्क्रमण

पूर्वराजा ज्ञानेन्द्र शाह दम्पतीलाई कोरोना सङ्क्रमण पुष्टि भएको छ । भारतको हरिद्वारमा भएको कुम्भमेलामा सहभागी भएर गएको आइतवार मात्रै नेपाल फर्किएका पूर्वराजा ज्ञानेन्द्र शाह र रानी कोमलमा कोरोना सङ्क्रमण देखिएको हो ।

राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष कमल थापाले पूर्वराजा दम्पतीको स्वास्थ्य लाभको कामना गर्नुभएको छ । कोरोनाबाट बच्न कुनै स्वास्थ्य मापदण्ड पालना नभएको कुम्भमेलामा सहभागी सयौँ जनामा कोराना पुष्टि भएको छ । भारतका विभिन्न राज्यले कुम्भमेलामा सहभागीलाई अनिवार्य क्वरेण्टीनमा बस्न निर्देशन दिएका छन् ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार