कम्तिमा ५० प्रतिशत बेड कोरोना उपचारमा छुट्याउन सबै सरकारी अस्पताललाई निर्देशन

कम्तिमा ५० प्रतिशत बेड कोरोना उपचारमा छुट्याउन सबै सरकारी अस्पताललाई निर्देशन

स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले कोरोना सङ्क्रमितको उपचारका लागि कम्तिमा ५० प्रतिशत बेड छुट्याउन सबै सरकारी अस्पताललाई निर्देशन दिएको छ । मन्त्रालयले आज एक सूचना जारी गर्दै यस्तो निर्देशन दिएको हो । कोरोना सङ्क्रमण बढ्दै गएको र विशेषतः बालबालिका, युवा वर्गमा सङ्क्रमण तथा मृत्यु बढ्दो गतिमा देखिएकाले जनस्वास्थ्यका मापदण्डकडा रूपमा पालना गर्नुपर्ने सूचनामा भनिएको छ ।

नियमित रूपमा अस्पतालमा सेवा लिन आइरहेका सेवाग्राहीलाई कोभिड १९ सङ्क्रमण पुष्टि भएको आधारमै मात्र अन्य अस्पतालमा पठाउने गरेर अनावश्यक दुःख हुने काम नगर्न नगराउन अनुरोध गरिएको मन्त्रालयका सहप्रवक्ता डा समीरकुमार अधिकारीले जानकारी दिनुभयो । मन्त्रालयले १४ जिल्लालाई अति प्रभावित भनी वर्गीकरण गरेको छ । काठमाडौं, ललितपुर, कास्की, रुपन्देही, चितवन, बाँके,पर्सा, भक्तपुर, कैलाली, मोरङ, दाङ, सुर्खेत, बारा र बाग्लुङलाई अति प्रभावितको सूचीमा राखिएको छ ।

निजी प्रयोगशाला तथा अस्पतालहरुले कोभिड १९ को परीक्षण तथा उपचारका लागि तोकिएको शुल्क (२ हजार) रुपैयाँ नबढाइ तथा सङ्क्रमितहरूको औषधिबाहेक उपचारका लागि सङ्क्रमणको जटिलताका आधारमा दैनिक सामान्यलाई ३ हजार ५ सय, मध्यमलाई ७ हजार र जटिललाई १५ हजारमा ५० प्रतिशतभन्दा नबढ्ने गरी उपचार गर्नुपर्ने मन्त्रालयको आग्रह छ ।सूचनामा नेपालमा विभिन्न होटलहरुमा आइ बसोबास गर्ने विदेशी नागरिकहरुको दर्ता प्रक्रिया चुस्त बनाइ काम गर्न तथा पीसीआर नतिजा नेगेटिभ आएमा मात्र होटलमा राख्न भनिएको छ ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार