आज वसन्त पञ्चमी, विद्याका देवी सरस्वतीको पूजा गरी मनाइँदै

आज वसन्त पञ्चमी, विद्याका देवी सरस्वतीको पूजा गरी मनाइँदै

माघ शुक्ल पञ्चमीका दिन मनाइने ‘श्रीपञ्चमी’ पर्व आज विद्याकी देवी सरस्वतीको पूजा गरी मनाइँदैछ । सूर्य उत्तरतिर लागेर दिन लामो हुने र वसन्त ऋतु प्रारम्भ हुने दिनलाई ‘वसन्त पञ्चमी’ पनि भन्ने गरिन्छ ।विद्या र सिर्जनाकी देवी भएकाले विशेष गरी साहित्यकार, कलाकार, पत्रकार, शिक्षक र विद्यार्थी आ–आफ्ना कला–साधनाका वस्तु कलम, कापी, कुची र वाद्ययन्त्र आदिलाई सरस्वतीका रूपमा पूजा–आराधना गर्छन् ।सरस्वतीको पूजा गर्नाले सबै प्रकारको ज्ञान, सिद्धि र सद्बुद्धि प्राप्त हुने विश्वास छ ।

आजको दिन काठमाडौं उपत्यकाका स्वयम्भू, मैतीदेवी, गैरीधारास्थित नीलसरस्वती, ललितपुरको लेलेलगायत अन्य जिल्लामा रहेका सरस्वतीका मन्दिरमा बिहानैदेखि पूजाआजा गर्न भक्तजन, खासगरी छात्रछात्राको घुइँचो लागेको छ ।यस अवसरमा हनुमानढोका दरबारमा वसन्त श्रवण पनि गरिन्छ । नेपाल पञ्चाङ्ग निर्णायक समितिले दिएको साइत अनुसार बिहान १० बजेर १७मिनेटमा हनुमानढोकाको नासलचोकमा वसन्त श्रवणको कार्यक्रम राखिएको छ ।वसन्त श्रवणमा राष्ट्रपति विद्यादेवी भण्डारी पनि सहभागी हुनुहुने हनुमानढोका दरबार हेरचाह अड्डाका कार्यालय प्रमुख सन्दीप खनालले जानकारी दिनुभयो ।आजको दिन विवाह, व्रतबन्ध, गुफा राख्ने र बेलविवाह (इही) जस्ता सामाजिक तथा धार्मिक कार्य गर्न साइत हेर्नुपर्दैन भन्ने मान्यता छ ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार