पेट्रोलियम पदार्थको मूल्य नघटाए गाडी भाडा बढाउने यातायात व्यवसायीको चेतावनी

पेट्रोलियम पदार्थको मूल्य नघटाए गाडी भाडा बढाउने यातायात व्यवसायीको चेतावनी

सरकारले इन्धनको मूल्य वृद्धि गरेपछि यातायात व्यवसायीले विरोध जनाएका छन् । यातायात व्यवसायीले पेट्रोलियम पदार्थको मूल्य नघटाए गाडीको भाडा आफैं बढाउने चेतावनी दिएका छन्। सरकारलाई बुझाउनु पर्ने राजश्व, किस्ता, पार्टपुर्जा र लुब्रिकेन्टको शुल्कसमेत बुझाउन नसक्ने अवस्थामा बारम्बार इन्धनको मूल्य बढाउनु उचित नभएको नेपाल यातायात व्यवसायी राष्ट्रिय महासघंका महासचिव सरोज सिटौलाले बताउनुभयो ।

२०६५ साल फागुनदेखि लागू हुनेगरी प्रत्येक आर्थिक वर्षमा अनिवार्य रूपमा स्वतः भाडा समायोजन गर्ने व्यवस्था भएपनि हालसम्म यो लागू नभएको सिटौलाको तर्क छ। नेपाल आयल निगमले हिजोदेखि लागू हुने गरी खाना पकाउने ग्यास र पेट्रोलियम पदार्थको मूल्य बढाएपछि यातायात व्यवसायीहरु असन्तुष्ट बनेका छन् । निगम सञ्चालक समिति बैठकले भारतबाट बढेर आएको मूल्यअनुसार पेट्रोलियम पदार्थको मूल्य समायोजनको गरेको बताएको छ । डिजेल, पेट्रोल र मट्टितेलको मूल्य प्रतिलिटर दुई रुपैयाँ बढेको छ। अब काठमाडौं उपत्यकामा पेट्रोलको मूल्य प्रतिलिटर १ सय १२, डिजेल तथा मट्टितेलको ९५ रुपैयाँ पर्नेछ। त्यस्तै खाना पकाउने एलपी ग्यासको मूल्य प्रतिसिलिन्डर २५ रुपैयाँले बढेको छ। अब खाना पकाउने ग्यासको प्रतिसिलिन्डर मूल्य १ हजार ४ सय रूपैयाँ कायम भएको छ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार