जनताले चुनावमार्फत स्थायित्व खोजेको प्रधानमन्त्री ओलीको दावी ।।

जनताले चुनावमार्फत स्थायित्व खोजेको प्रधानमन्त्री ओलीको दावी ।।

नेकपाको ओली समूहका अध्यक्षसमेत रहनुभएका प्रधानमन्त्री केपी शर्मा ओलीले जनताले चुनावमार्फत देशको स्थायित्व चाहेको दावी गर्नुभएको छ । नेकपा बागमति प्रदेशले आज काठमाडौँको दरवारमार्गमा आयोजना गरेको आमसभामा ओलीले आजको उपस्थितिले मूल पार्टी आफूहरू सहभागी पार्टी हो भन्ने प्रमाणित भएको टिप्पणी गर्नुभयो । नेकपाको प्रचण्ड–नेपाल समूहले सर्वोच्च अदालत, निर्वाचन अयाोगलाई धम्की दिँदै हिँडेको उल्लेख गर्दै प्रधानमन्त्री ओलीले संवैधानिक संस्थालाई स्वतन्त्रतापूर्वक, विवेकसम्मत निर्णय गर्न दिनुपर्नेमा जोड दिनुभयो । अब नेपालमा कसैले हिंसा मच्चाउन नसक्ने भन्दै उहाँले देश अव अशान्तिको भूमरीमा जान नसक्ने धारणा राख्दै कसैले पनि नरभक्षी आन्दोलन चलाउँछु भनेर सोच्न नसक्ने बताउनुभयो ।

हिजो प्रचण्ड–नेपाल समूहले गरेको आमहड्तालका समयमा ट्याक्सी जलाइएको, पसलहरूमा तोडफोड गरिएको घटनाको निन्दा गर्दै प्रधानमन्त्री ओलीले बीमा कम्पनीमार्फत रकम नबेहोरिएमा सरकारले पीडितहरूलार्य क्षतिपूर्ति दिने बताउनुभयो । कोभिड १९ पनि नियन्त्रणमा आइसकेकाले केही समयपछि मुलुकबाटै कोभिड १९ समाप्त हुने उहाँको भनाइ छ । सामाजिक सुरक्षा भत्तामा बृद्धि गर्ने र काम गरेबापत सबैका लागि पेन्सनको व्यवस्था मिलाउने काम सरकारले गरिरहेको उहाँको भनाइ थियो । नेपाली जनता सचेत भइसकेकाले लोकतन्त्र कसैले भाँड्न नसक्ने उहाँले बताउनुभयो ।

काम गर्न नदिने अनि सरकारले काम गरेन भन्ने भ्रम फैलाउनेहरु विरुद्ध जनताको ताजा जनादेश लिन निर्वाचनमा जाने निर्ण भएको उहाँको भनाइ थियो । संघीय लोकतान्त्रिक गणतन्त्र लडेर ल्याएको उपलब्धी भएकाले यसलाई खतरामा पर्न नदिइने प्रतिवद्धता व्यक्त गर्दै ओलीले कसैकसैले ओलीले राजतन्त्र फर्काउन खोजिरहेको छ भनेर जनतामा भ्रम फैलाउने काम गरिरहेका छन् भन्नुभयो । आजको भेला काष्टिङमात्र भएको र फागुन १ गते बुटवलमा, ८ गते विराटनगरमा आमसभा गरिने जानकारी गराउनुभयो ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार