रामेछाप नगरपालिकामा ६ महिनाको अवधिमा दुई वटा आयोजनाको मात्रै काम सम्पन्न

रामेछाप नगरपालिकामा ६ महिनाको अवधिमा दुई वटा आयोजनाको मात्रै काम सम्पन्न

रामेछापको रामेछाप नगरपालिकाले चालु आर्थिक वर्षको हालसम्मको अवधिमा पूर्वाधारतर्फका जम्मा दुई वटा मात्रै योजनाको काम सम्पन्न गरेको छ । चालु आर्थिक वर्ष २०७७÷०७८ मा जम्मा एक सय ९६ वटा पूर्वधारतर्फका आयोजना सञ्चालन गर्ने लक्ष्य राखेको नगरपालिकाले ६ महिनाको अवधिमा दुई वटा आयोजनाको मात्रै काम सम्पन्न गरेको हो । गत आर्थिक वर्ष २०७६÷०७७ बाट दायित्व सरेर आएका चार वटा आयोजना रहेका छन् । बाँकी एक सय ९४ वटा आयोजनाको काम जारी रहेको नगरपालिकाका सूचना प्रविधि अधिकृत दिपक कुमार श्रेष्ठले जानकारी दिनुभयो ।

नगरपालिकाले सडक पूर्वाधार तर्फका ८४ वटा आयोजना सञ्चालन गरेको छ भने कृषितर्फका आयोजनाहरुमा नगरपालिकाबाट दश वटा र वडास्तरबाट २३ वटा गरी जम्मा ३३ वटा आयोजना सञ्चालन गरेको छ । यसैगरी, नगरपालिकाका अनुसार सामाजिक विकास तर्फको बजेटबाट पाँच वटा आपत्कालीन ट्रस निर्माणको आयोजना, सशर्त अनुदान मार्फत बागमती प्रदेशको पाँच वटा र सङ्घीय सरकारबाट प्राप्त सशर्त अनुदानबाट एउटा झोलुङ्गे पुल निर्माण आयोजना रहेको छ ।

यस्तै, प्रधानमन्त्री स्वरोजगार कार्यक्रम अन्तर्गत प्रत्येक वडामा एक÷एक वटा गरी जम्मा ९ वटा आयोजना रहेको रामेछाप नगरपालिकाले जनाएको छ । नगरपालिकाले धुले, माटे र विगतमा ट्रयाक ओपन गरेका सडक आयोजनालाई मर्मत सम्भारमा राखेको छ । चालु आर्थिक वर्ष विकास निर्माणको आयोजना सञ्चालन गर्नका लागि कुल ६७ करोड रुपियाँ बराबरको बजेट पाएको छ ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार