वेथानमा नागरिक आरोग्य सेवा केन्द्र सञ्चालन

वेथानमा नागरिक आरोग्य सेवा केन्द्र सञ्चालन

रामेछापको सुनापति गाउँपालिका वेथानमा नागरिक आरोग्य सेवा केन्द्र सञ्चालनमा आएको छ । आयुवेर्दिक उपचार प्रणालीसँग जोडिएको त्यस आरोग्य केन्द्रमा वेथानका स्थानीय वासीहरुले निःशुल्क औषधी र थेरापी सेवा पाउने छन् भने केही समयपछि योग सेवा समेत सञ्चालनमा ल्याइने बताइएको छ । जिल्ला आयुर्वेद स्वास्थ्य केन्द्र मन्थलीले आफ्नो सेवा विस्तारको क्रममा सुनापति गाउँपालिकामा पनि सेवा प्रवाह गरेको हो । प्राचीन परम्परागत औषधी प्रणाली नेपाली समाजमा निकै लोकप्रीय र हानिरहित औषधी प्रणालीको रुपमा रहँदै आएको छ ।

माघ ११ गते आइतबार एक कार्यक्रमको आयोजना गरी आरोग्य सेवा केन्द्रको उद्धघाटन गरिएको हो । जिल्ला समन्वन्य समिति रामेछापका प्रमुख प्रेम बहादुर खड्काले स्वास्थ्यकर्मीहरुलाई स्वास्थ्य सामाग्री हस्तान्तरण गरी सेवा सुरुवात भएको घोषणा गर्नु भएको थियो । त्यस कार्यक्रममा नेपाल विद्युत् प्राधिकरणका पूर्व कार्यकारी निर्देशक कुलमान घिसिङ, सुनापति गाउँपालिकाका अध्यक्ष धावा लामा, सुनापति गाउँपालिका वडा नम्बर ४ वेथानका अध्यक्ष खड्ग घिसिङ ,जिल्ला आयुर्वेद स्वास्थ्य केन्द्र मन्थलीका डा. नागेन्द्र प्रसाद गिरी वेथानका पूर्व गाउँ विकास समितिका अध्यक्ष रामकृष्ण घिसिङ लगायतले आयुर्वेद औषधी प्रणालीको बारेमा आफ्नो विचार व्यक्त गर्नु भएको थियो ।

कार्यक्रममा बोल्दै अतिथि वक्ताहरुले नेपाल ऋषिमुनिको तपोभूमी, ज्ञान भूमी भएकाले यस क्षेत्रमा धेरै खोज अनुसन्धानको काम बाँकी रहेको बताएका थिए । प्राकृतिक हिसाबले विविधिता भएको नेपालमा लाखौँ करोडौँ प्रजातिका जडिबटी रहेको र ती जुडिबुटीलाई प्रशोधन गरेर औषधी बनाउन सके आर्थिक रुपमा नेपाल सम्पन्न बन्न सक्ने विचार व्यक्त गरेका थिए । सुनापति गाउँपालिकाका स्थानीयले भने आयुर्वेद औषधी उपचारको व्यवस्था गाउँमा नै भएको कारण सेवा लिन टाढा जानुपर्ने बाध्यता हटेकोमा खुसी व्यक्त गरेका थिए । चिकित्सकको समेत व्यवस्था भएकाले नियमित स्वास्थ्य परीक्षणमा सहजता भएको उनीहरुको भनाई छ । सुनापति गाउँपालिका स्वास्थ्य शाखाका संयोजक अर्जुन श्रेष्ठले अब गाउँपालिका भित्रका नागरिकहरुलाई घरदैलोमा नै पुगेर स्वास्थ्य सेवा दिने योजना स्वास्थ्य शाखाले अघि सारेको जानकारी दिनुभयो ।                                                                             

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार