नेकपाको सचिवालय बैठक अन्यौलमा, विवाद समाधानका लागि चिनियाँ चासो

नेकपाको सचिवालय बैठक अन्यौलमा, विवाद समाधानका लागि चिनियाँ चासो

नेकपाभित्रको विवाद समाधान हुने सम्भावना नदेखिएपछि आज बस्ने सचिवालय बैठक अन्यौलमा परेको छ । प्रधानमन्त्री तथा अध्यक्ष केपीशर्मा ओली बैठक सार्ने कसरतमा लाग्नु भएको छ भने अर्का अध्यक्ष पुष्पकमल दाहाल पचण्ड बैठक गराउनै पर्ने अडानमा रहनु भएको छ । सचिवालयमा गत शुक्रबार प्रस्तुत भएका प्रस्ताव तथा पत्रमाथि आज छलफल गर्ने टुंगो भएको थियो । अध्यक्ष ओलीको सन्देश लिएर महासचिव विष्णु पौडेल हिजो अध्यक्ष प्रचण्डको निवास खुमलटार पुग्नु भएको थियो । तर, अध्यक्ष प्रचण्डले प्रधानमन्त्री उपस्थित नभए पनि आज बैठक बस्ने अडान राख्नु भएको उहाँको सचिवालये जनाएको छ ।

प्रचण्डले बैठक सार्न नमानेपछि अध्यक्ष ओलीले आफूनिकट शीर्ष नेताहरूसँग बालुवाटारमा छलफलगर्नु भएको थियो । आफूनिकट नेताहरुको बैठकमा पार्टी विवादका विषयमा छलफल भएको र विवाद झन बढ्ने देखिएपछि सचिवालय बैठक सार्नुपर्नेमा कुराकानी भएको नेता सुवासचन्द्र नेम्वाङले बताउनुभयो । उहाँले भन्नुभयो, ‘छलफल गरेर, सहमति गरेर पार्टीलाई एकजुट बनाउनुपर्छ । त्यसो गर्नुको विकल्प छैन । यही सन्दर्भमा अहिले जुन सचिवालयको बैठक आज बस्न गइराखेको भनिन्छ, त्यो बैठकको लागि तपाईहरूको सचिवालयको त्यति तयारी पुगिसकेको छ जस्तो लाग्दैन । यस्तो अवस्थामा बैठक बसेर समस्या झन बल्झिएला ।

त्यसैले बैठकलाई केहीदिन स्थगित गरेर अनि त्यो समयमा दुईटा अध्यक्षको बीचमा सहमतिको आधार तयार गरेर अगाडी बढ्दा राम्रो हुन्छ भन्ने सुझाव उता खुमलटार अध्यक्षलाई पनि राखियो, बालुवाटार अध्यक्षलाई पनि राखियो । ’ पार्टी विवादका विषयमा लिखित रुपमै आरोप पत्यारोप भएपछि ध्रुवीकरण झन बढेको छ । नेकपा विवाद दुर्घटनातर्पm उन्मुख भइरहेको वेला राष्ट्रपतिको सक्रियता र चिनियाँ चासो बढेको छ । राजदूत होउ यान्छीले गएराति करिब डेढ घन्टा प्रधानमन्त्री केपी ओलीसँग संवाद गर्नु भएको छ । बालुवाटारमा राती ९ बजे सुरु भएको संवाद साढे १० बजेसम्म चलेको थियो । १७ वैशाखमा नेकपा सचिवालय बैठकमा अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड, माधवकुमा नेपाल, झलनाथ खनाललगायतका नेताहरूले प्रधानमन्त्री ओलीको राजीनामा मागेपछि नेकपामा विवाद चर्किएको थियो । राजदूत यान्छीले राष्ट्रपति विद्या भण्डारी, प्रधानमन्त्री एवं नेकपा अध्यक्ष ओली, अर्का अध्यक्ष प्रचण्ड, वरिष्ठ नेताहरू झलनाथ खनाल र माधवकुमार नेपालसँग छुट्टाछुट्टै भेट गरिसक्नु भएको छ ।

नेकपा सचिवालय बैठकमा प्रधानमन्त्री ओलीविरुद्ध प्रस्ताव प्रस्तुत भएपछि उत्कर्षमा पुगेको विवाद व्यवस्थापन गर्न राष्ट्रपति विद्या भण्डारी पनि अघि सर्नु भएको छ । उहाँले गएराती शीतल निवासमा प्रधानमन्त्री ओलीसँग छलफल गर्नु भएको छ । हिजै साँझ शीतलनिवासमा नेकपा अध्यक्ष प्रचण्डसँग दुई घन्टाभन्दा लामो छलफल गर्नु भएको थियो । राष्ट्रपतिलाई भेट्न जानुअघि प्रचण्डले वरिष्ठ नेता माधवकुमार नेपाल र उपाध्यक्ष वामदेव गौतमसँग छलफल गर्नु भएको थियो । पार्टीभित्रको बहुमत आफूविरुद्ध प्रयोग भए संसदीय दलमा मात्र संख्या पु¥याएर नयाँ दल बनाउने ओलीको प्रयास जारी रहेको प्रचण्ड–नेपालपक्षको आरोप छ । तर, त्यसका लागि विद्यमान कानुन बाधक छ । अहिलेको कानुनअनुसार संसदीय दल र पार्टी केन्द्रीय कमिटी दुवैतर्फ ४० प्रतिशत आवश्यक पर्छ । राष्ट्रपतिले सकेसम्म पार्टी विवाद मिलाउन र आवश्यक परे संसदीय दलमा बहुमत सावित गरेर बस्न प्रधानमन्त्रीलाई सुझाव दिनुभएको बताइएको छ ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार