नेकपाभित्रको आन्तरिक संकट झन गहिंरिदै, दुई अध्यक्ष दुरी बढाउँदै

नेकपाभित्रको आन्तरिक संकट झन गहिंरिदै, दुई अध्यक्ष दुरी बढाउँदै

अध्यक्षद्वय केपी ओली र पुष्पकमल दाहाल ‘प्रचण्ड’बीचको छलफल तिक्त र आरोप–प्रत्यारोपमै सीमित हुँदै गएपछि नेकपाभित्रको आन्तरिक संकट थप गहिरिँदै गएको छ । एक–अर्काप्रति अविश्वास र एक–अर्काविरुद्धका गतिविधिले ओली र प्रचण्डबीच लगातार दूरी बढ्दै गएको छ, जसलाई नेकपाका नेताहरूले ‘चिन्ताजनक’ भनेका छन् । ४ कात्तिकबाट सुरु भएको पछिल्लो तिक्तताको शृंखला दुई हप्ताकै बीचमा उत्कर्षमा पुगेको छ । बिहीबार बालुवाटारको करिब एक घन्टाको संवाद पनि तिक्तताकै बीचमा निष्कर्षविहीन भएपछि दुवै नेता जस्तोसुकै परिस्थिति सामना गर्ने मनस्थितिका साथ रणनीति बनाउन सक्रिय बनेका छन् ।

प्रचण्ड–माधव नेपाल समूह एक ठाउँ हुँदा ओली दबाबमा देखिनुभएको छ । ओलीले आफूलाई हटाउन प्रचण्ड–नेपाल समूहले अविश्वासको प्रस्ताव दर्ता गराउनेसम्मको तयारी गरेको भन्दै त्यस्तो तानाबानालाई जुनसुकै प्रयासबाट भए पनि चकनाचुर पार्ने चुनौती दिनुभएको छ । माग्दै नमागेको राजीनामाको विषय उठाएर ओलीले गलत प्रचार गरेको भन्दै प्रचण्डले खण्डन गर्नुभएको छ । नेताहरूका अनुसार प्रचण्ड, वरिष्ठ नेता माधवकुमार नेपालसहित बहुमत नेताहरूको समर्थनमा केन्द्रीय सचिवालय बैठक बोलाएर अघि बढ्नेसम्मको तयारीमा हुनुहुन्छ । स्थायी कमिटी बैठकको निर्णय कार्यान्वयन, कर्णालीमा मन्त्रिपरिषद् पुनर्गठनको प्रयास र भारतीय खुफिया एजेन्सी ‘रअ’का प्रमुख सामन्त गोयलको नेपाल भ्रमणप्रति प्रचण्ड–नेपाल समूहको आशंकासँगै चर्किँदै गएको नेकपाको आन्तरिक विवाद झन्झन् गहिरिँदै गएको हो ।

पाँच दिनपछि हिजाको भेटमा प्रचण्डले अहिलेसम्म उठेका सबै विषय पार्टी सचिवालय बैठकमै छलफल गर्नुपर्नेमा जोड दिँदै ओलीमाथि थप दबाब सिर्जना गर्ने कोसिस गर्नुभएको थियो । तर, ओलीले भने समझदारीविना गरिने छलफल गुटमा रूपान्तरण हुने भन्दै बैठक बोलाउन अस्वीकार गर्नुभएको छ । भेटवार्तामा प्रचण्डले बालुवाटारबाटै जुम बैठकमार्फत कार्यकर्तालाई जबजको बहस ब्युँताउन र मदन भण्डारी फाउन्डेसनलाई वडासम्म विस्तार गर्न निर्देशन दिएर प्रधानमन्त्रीले फुटको आधार निर्माण गरेको आरोप लगाउनुभएको थियो । ओलीले नेताहरूको छुट्टै भेला राखेर, कानुनी परामर्शसमेत गरेर प्रचण्डले नै पाटी फुटाउने तयारी गरेको आरोप लगाउनुभयो । दुई अध्यक्षबीचको भनाभन र आरोपप्रत्यारोपले नेकपाभित्रको संकटलाई थप सहयोग पु¥याइरहेको छ ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार