नेकपाको कर्णाली प्रदेशको विवादः दुई अध्यक्षको छुट्टाछुट्टै निर्देशन

नेकपाको कर्णाली प्रदेशको विवादः दुई अध्यक्षको छुट्टाछुट्टै निर्देशन

नेकपाको कर्णाली प्रदेशको विवाद समाधानका लागि २ अध्यक्षबीच सहमति भएको भनिए पनि दुई अध्यक्ष केपी शर्मा ओली र कार्यकारी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले फरकफरक निर्देशन कर्णालीमा पठाएको पाइएको छ । ओलीको ५ कात्तिक र प्रचण्डको ७ कात्तिकको मितिमा जारी पत्र सार्वजनिक भएपछि यस्तो थाहा भएको हो ।

प्रधानमन्त्रीसमेत रहेका नेकपा अध्यक्ष ओलीले कर्णाली प्रदेशका मुख्यमन्त्रीलाई लेखेको पत्रमा निवर्तमान मुख्य सचेतक गुलाबजंग शाहलाई जिम्मेवारीमा स्थापित गर्न निर्देशन दिनुभएको छ । आफूविरुद्ध अविश्वासको प्रस्ताव दर्ता गरेपछि मुख्यमन्त्री शाहीले शाहलाई कारबाही गरेर सीता नेपालीलाई प्रमुख सचेतक बनाउनुभएको छ । प्रचण्डले लेखेको पत्रमा आफू र ओलीबीच ४ कात्तिकमा भएको सहमति लागू गर्न प्रदेश इन्चार्जलाई निर्देशन दिइएको छ ।

यसैबीचकर्णाली प्रदेशका मुख्यमन्त्री महेन्द्रबहादुर शाहीविरुद्ध पेस भएको अविश्वासको प्रस्ताव नेकपाबाट बहुमतले अस्वीकृत भएको छ । प्रमुख सचेतक सीता नेपालीको अध्यक्षतामा हिजो बसेको बैठकमा १८ जना सांसद उपस्थित थिए । बैठकमा पूर्वमाओवादी पक्षका ११ जना र वरिष्ठ नेता माधवकुमार नेपाल खेमाका ८ जना उपस्थित थिए ।

अध्यक्ष तथा प्रधानमन्त्री ओली समूहका यमलाल कँडेल सहित ११ जना र पूर्वमाओवादी समूहका सांसदहरु धर्मराज रेग्मी र पुष्पा घर्ती भने बैठकमा अनुपस्थित रहनुभयो । हिजोको बैठकले दफा २४ को ४ बमोजिम बहुमतको आधारमा निर्णय गरेको प्रमुख सचेतक नेपालीले बताउनुभयो ।४० सदस्यीय कर्णाली प्रदेशसभामा नेकपाका ३३ सांसद छन् ।सांसद यामलाल कँडेलको अगुवाइमा असोज २५ गते १८ जना सांसदले शाही विरुद्ध अविश्वासको प्रस्ताव दर्ता गरेका थिए । तीमध्ये ९ जनाले आफ्नो हस्ताक्षर फिर्ता लिएका थिए ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार