नेपालमा कोरोनाका सक्रिय संक्रमितको संख्या २० हजार नाघ्यो, २५ हजार पुगेपछि लकडाउन गरिने

नेपालमा कोरोनाका सक्रिय संक्रमितको संख्या २० हजार नाघ्यो, २५ हजार पुगेपछि लकडाउन गरिने

नेपालमा कोरोनाभाइरसका सक्रिय संक्रमितको संख्या २० हजार ३९६ पुगेको छ । पछिल्लो २४ घन्टामा एक हजार ५१३ जना कोरोनाका संक्रमित थपिएसँगै सक्रिय संक्रमितको संख्या २० हजार ३९६ पुगेको हो । काठमाडौं उपत्यकामा एकैदिन अहिलेसम्मकै बढी ९३४ जना संक्रमित थपिएका छन् । जसमा काठमाडौंमा ७४७, ललितपुरमा ११४ तथा भक्तपुरमा ७३ जना संक्रमित थपिएका हुन् ।

त्यस्तै, मोरङमा १०१, रुपन्देहीमा ९५ तथा चितवनमा ६२ जना थपिएका छन् । दिनानुदिन संक्रमित थपिँदै गर्दा स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले सक्रिय संक्रमित २५ हजार पुगे स्वतः ‘लकडाउन’ गरिने अवस्था आउने यसअघि नै जनाइसकेको छ । नेपालमा अहिलेसम्म कुल संक्रमितको संख्या ७६ हजार २५८ पुगेको मंगलबार मन्त्रालयको नियमित ‘प्रेस ब्रिफिङ’मा प्रवक्ता डा. जागेश्वर गौतमले जानकारी दिनुभयो ।

पछिल्लो २४ घन्टामा ७३१ जनामात्र कोरोनामुक्त भएका छन् । अहिलेसम्म कोरोनामुक्त हुनेको संख्या ५५ हजार ३७१ पुगेको छ । कोरोनामुक्त हुनेको प्रतिशत घटेर ७२.६ मा पुगेको छ । पछिल्लो २४ घन्टामा थप १० जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा ३९ देखि ७६ वर्ष उमेरका तीन महिला तथा सात पुरुष हुन् । काठमाडौं र बाँकेका समान तीनरतीन तथा मोरङ, सर्लाही, महोत्तरी र चितवनका एकरएकजनाको मृत्यु भएको हो ।

योसँगै नेपालमा कोरोनाबाट मृत्यु हुनेको संख्या ४९१ पुगेको छ । हाल होम आइसोलेसनमा १० हजार ७०७ तथा संस्थागत आइसोलेसनमा नौ हजार ६८९ जना रहेका छन् । तीमध्ये २१३ ‘आईसीयू’मा र ३४ जना भेन्टिलेटरमा रहेका छन् । पछिल्लो २४ घन्टामा १० हजार ८९१ जनाकोमात्र ‘पीसीआर’ परीक्षण भएको मन्त्रालयले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार