असोज पाँच गतेबाट सार्वजनिक तथा आन्तरिक हवाई यातायात सञ्चालन हुने

असोज पाँच गतेबाट सार्वजनिक तथा आन्तरिक हवाई यातायात सञ्चालन हुने

सरकारले स्वास्थ्य सुरक्षाको मापदण्ड सहित असोज ५ गतेबाटसार्वजनिक तथा आन्तरिक हवाई यातायात खुला गर्ने निर्णय गरेको छ । हिजो बसेको मन्त्रिपरिषद् बैठकले स्वास्थ्य मापदण्डको पूर्ण पालनासाथ सार्वजनिक तथा आन्तरिक हवाई यातायात खुला गर्ने निर्णय गरेको हो । भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयले लामो तथा मध्यम दूरीका सार्वजनिक यातायात असोज ५ गतेबाट खुला गर्ने प्रस्ताव कोभिड–१९ सङ्कट व्यवस्थापन केन्द्र (सीसीएमसी)मा पठाएको थियो । सीसीएमसीले उक्त प्रस्तावका आधारमा निर्णयका लागि मन्त्रिपरिषद् बैठकमा पेस गरेको थियो ।

सरकारको यसअघिको निर्णयबाट असोज १ गतेसम्म लामो दूरीको सार्वजनिक सवारी सञ्चालनमा रोक लगाइएको थियो । असोज १ गतेबाटै सञ्चालन गर्दा व्यवस्थापनमा कठिनाइ हुन सक्ने भएकाले असोज ५ गतेबाट यातायात सञ्चालन गर्ने गरी प्रस्ताव पठाइएको मन्त्रालयले जनाएको छ । यातायात व्यवस्था विभागले पनि सुरक्षाका उपाय अपनाएर लामो दूरीका यातायात सञ्चालन गर्न भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयलाई सुझाव दिएको थियो । सरकारले तोकेको सुरक्षाका मापदण्ड अपनाएर यातायात सञ्चालन गर्न सकिने विभागका महानिर्देशक गोगनबहादुर हमालले जानकारी दिनुभयो ।

यातायात व्यवसायीले लामो तथा मध्यम दूरीका सार्वजनिक यातायात खुला गर्न माग गर्दै आएका थिए । नेपाल यातायात व्यवसायी राष्ट्रिय महासङ्घका वरिष्ठ उपाध्यक्ष विजय स्वाँरले यातायात खोल्नुको विकल्प नरहेको र सुरक्षा अपनाएर यातायात सञ्चालन गर्न व्यवसायी तयारी अवस्थामारहेको बताउनुभयो ।गत चैत ११ गतेदेखि लामो तथा मध्यम दूरीका सार्वजनिक यातायात सञ्चालन बन्द थियो ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार