रामेछापका १३ सयबढिको पीसीआर परीक्षण, जिल्लामा ५६ जना क्वारेन्टिनमा

रामेछापका १३ सयबढिको पीसीआर परीक्षण, जिल्लामा ५६ जना क्वारेन्टिनमा

रामेछाप जिल्लामा शुक्रबार अर्थात आजसम्म १ हजार ३ सय २९ जनाको पीसीआर विधिबाट कोरोना भाइरस कोभिड १९ को परीक्षण गरिएको छ । यस मध्ये अब २७ जनाको पिसीआर रिपोर्ट आउन बाँकि रहेको स्वास्थ्य कार्यालय रामेछापले जनाएको छ । यसअघि विभिन्न समयमा कोरोना संक्रमण पुष्टि भएका ३७ जना कोरोना मुक्त भएर डिस्चार्ज भैसकेका छन् भने कोरोना संक्रमित १२ जनाको उपचार भैरहेको छ । १२ जना मध्ये ३ जना होम आईसोलेशन , २ जना प्रहरी हिरासत र ७ जनाको जिल्ला अस्पतालमा उपचार भईरहेको स्वास्थ्य कार्यालय रामेछापले प्रेस विज्ञप्ती मार्फत जानकारी दिएको छ ।

जिल्लामा हालसम्म १ हजार २ सय ५३ जनाको पीसीआर परीक्षण रिपोर्ट नेगेटिभ आएको छ । अहिलेसम्म जिल्ला अस्पतालमा ८२ , तामाकोसी अस्पतालमा ६१ , मन्थली नगरपालिकामा ४ सय ३ , रामेछाप नगरपालिकामा १५१ , उमाकुण्ड गाउँपालिकामा १३४, खाँडादेवी गाउँपालिकामा ६५ , गोकुलगंगा गाउँपालिकामा २ सय १, दोरम्बा गाउँपालिकामा ४० , लिखुतामाकोशी गाउँपालिकामा १३१ र सुनापति गाउँपालिकामा ६१ जना गरी १३ सय २९ जनाकोे पीसीआर विधिबाट कोरोना परीक्षण गर्न स्वाब संकलन गरिएको स्वास्थ्य कार्यालय रामेछापले जानकारी दिएको छ ।

जिल्लाका ५६ जना क्वारेन्टिनमा

जिल्लाको विभिन्न पालिकाहरुमा आजसम्म ५६ जना क्वारेन्टिनमा रहेका छन । १५ जना महिला र ४१ जना पुरुष गरी ५६ जना क्वारेन्टिनमा रहेको स्वास्थ्य कार्यालय रामेछापले जनाएको छ । रामेछाप नगरपालिकामा २ , मन्थली नगरपालिकामा ४ , उमाकुण्ड गाउँपालिकामा २३ , गोकुलगंगा गाउँपालिकामा १९ र लिखुतामाकोशी गाउँपालिकामा ८ जना गरी जिल्लाभर ५६ जना क्वारेन्टिनमा रहेका छन् । दोरम्बा , खाँडादेवी र सुनापति गाउँपालिकामा भने कोहि पनि व्यक्ति क्वारेन्टिनमा बसेका छैनन् । जिल्लामा अहिलेसम्म ९८ बेडको आइसोलेशन कक्ष र ४ सय ९० बेडको क्वारेन्टिन कक्ष स्थापना गरिएको छ ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार