वाग्मती प्रदेश सरकारद्धारा पहिलो पटक आफ्नो प्रदेश शिक्षा नीतिको मस्यौदा तयार

वाग्मती प्रदेश सरकारद्धारा पहिलो पटक आफ्नो प्रदेश शिक्षा नीतिको मस्यौदा तयार

वाग्मती प्रदेश सरकारले पहिलो पटक आफ्नो प्रदेश शिक्षा नीतिको मस्यौदा तयार गरेको छ । संविधानको साझा अधिकार सूची, राष्ट्रिय शिक्षा नीति, २०७६ र अन्य राष्ट्रिय स्रोत सामग्रीको मार्गदर्शनमा रही सो प्रदेश सरकारले तयार गरेको प्रदेश शिक्षा नीतिको मस्यौदामा नागरिकस्तरमा छलफल हुन थालेको छ । शिक्षा अधिकार अनुगमन समिति (एजुकेशन वाच ग्रुप) ले बिहीबार भर्चुअलरुपमा आयोजना गरेको कार्यक्रममा प्रदेशको सामाजिक विकास मन्त्रालयका उपसचिव एवं प्रवक्ता दीपेन्द्र सुवेदीले प्रदेशका विद्यमान स्रोत, नीति र कार्यक्रमका आधारमा नीति तयार गरिएको र प्राप्त सुझावका आधारमा प्रदेश शिक्षा नीति जारी गर्ने जानकारी दिनुभयो ।

प्रदेश सरकारका लागि शिक्षाविद्हरु डा. विद्यानाथ कोइराला र डा. बालचन्द्र लुइँटेलले नीतिको प्रारम्भिक मस्यौदा तयार गर्नुभएको थियो । सो मस्यौदा नीतिले सामाजिक आर्थिक रुपान्तरणका लागि जनमुखी, व्यवहारिक, वैज्ञानिक र गुणस्तरीय शिक्षाको पहुँचवृद्धि र समृद्ध नेपालको राष्ट्रिय योजना र लक्ष्यलाई सहयोग र समन्वय गर्ने ध्येय लिएको छ । प्रस्तावित नीतिले नवप्रवर्तन र समावेशितालाई पनि प्राथमिकता दिएको छ । सो प्रदेशमा हाल सात हजार ३१ विद्यालय, १४ लाख विद्यार्थी र ३० हजार शिक्षक रहेका छन् ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार