रामेछाप बजारमा थप कडाई गर्ने तयारीमा छौँ : वडाअध्यक्ष कार्की

रामेछाप बजारमा थप कडाई गर्ने तयारीमा छौँ : वडाअध्यक्ष कार्की

(नेपाल सरकारले कोरोना संक्रमणको जोखिमलाई मध्यनजर गत चैत्र ११ देखि देशभर लकडाउनको घोषणा गर्यो जुनबेला नेपालमा संक्रमण नागन्य मात्रामा थियो । पछि लकडाउन पुर्ण रुपमा हटाईयो जसले गर्दा फेरी संक्रमणको ग्राफ ह्वात्तै बढेर गयो । हाल देशभर ३४ हजार ४ सय १८जना कोरोना संक्रमित भएका छन् र १ सय ७५ जनाले यसै संक्रमणबाट ज्यान गुमाईसेका छन् । प्रदेश २ र काठमाडौँमा संक्रमण समुदाय स्तरमै फैलिईसकेकोले रामेछाप जिल्लामा पनि जिल्ला प्रशासन कार्यालायले भदौ ३ देखि निशेधाज्ञा जारी गरेको छ । कम संक्रमण हुँदाको अघिल्लो चरणको लकडाउनको संरचना फरक थियो तर समुदायमा त्रास व्यापक थियो । हाल दोस्रो चरणको लकडाउनलाई निशेधाज्ञा नाम दिइएको छ । संक्रमण र मृत्यूको ग्राफ बढेका बेला समुदायमा भने त्रास कम भएको देखिन्छ । यसै सन्दर्भमा इरामेछाप डटकमले रामेछाप नगरपालिका वडा नम्बर ८ का अध्यक्ष केदार कार्की सँग गरिएको कुराकानीको संम्पादित अंश : 

नोबेल कोरोना भाइरस रोकथाम र नियन्त्रणको लागि दोस्रो चरणको लकडाउन अर्थात् निशेधाज्ञामा के गर्दै हुनुहुन्छ ?

पहिलो कुरा कोरोना रोकथाम र नियन्त्रणको लागि अघिल्लो लकडाउनको समयमा गरेका जनचेतना कार्यक्रम गरेका थियौँ र क्वारेन्टाइन र आइसोलेसन सेन्टर जस्ता संरचना हामी सँग यथावत छँदैछ । पछिल्लो चोटि प्रमुख जिल्ला अधिकारीकै नेतृत्वमा मास्क लगाऔँ अभियान रामेछाप बजारमा संचालन गरेका छौँ । डुम्रिखर्क र सल्ले लगाएतका ठाउँमा मास्क र साबुन पनि वितरण गरेका छौँ । गाउँमा भन्दा बजार क्षेत्रमा भिँडभाँड बढी हुने भएकाले जोखिम यहीँ बढी छ । त्यसैले यस क्षेत्रमा हामीले हात धुने र मास्क लगाउने कुरामा जोड दिएका छौँ । कोरोना तथा अन्य रोग फैलन नदिन जनचेतनाका कार्यक्रमहरु रोकेका छैनौँ र जनताहरु पनि आफैँमा सचेत भइसकेका छन् । साथै यस वडाले कोरोना महामारी सुरु हुन भन्दा अगाडी नै आर्थिक वर्ष २०७६/०७७ कै बजेटमा जेष्ठ नागरिक, अपाङ्ग, दलित, अति विपन्न र सुत्केरीहका लागि जिल्ला भित्र र काठमाडौँ सम्म उपचारको लागि निशुल्क एम्बुलेन्स सेवा सुरु गरेका थियौँ जुन अहिले कोरोना महामारीमा अझ सान्दर्भिक भएको छ । साथै हामीले संचालन गरेका एम्बुलेन्समा पनि कोरोनाका विरामी बोक्न सकिने गरी सुरक्षा अपनाउने व्यवस्था गरेका छौँ ।

रामेछाप नगरपालिकाले संचालन गरेको क्वारेन्टाइन तथा आइसोलेसन पनि नगरपालिकाको केन्द्रमै रहेको छ । क्वारेन्टाइन र आइसोलेसन रहेका वडाको अध्यक्ष भएको नाताले त्यसको संचालन व्यवस्थापनमा के भुमिका खेल्नुभएको छ ?

नगरप्रमुखको संयोजकत्वमा गठित क्वारेन्टाइन व्यवस्थापन समितिको म सदस्य पनि हुँ । त्यसमा खाना बस्न र अन्य व्यवस्थापनको लागि दैनिक जसो खटेको छु । देशका विभिन्न ठाउँमा क्वारेन्टाइन राम्रो भएन भन्ने गुनासा आएका छन्, क्वारेन्टाइन छाडेर भागेका छन् तर हाम्रोमा त्यस्तो गुनासो छैन । क्वारेन्टाइनमा बस्ने सबै सन्तुस्ट नै छन्। साथै जिल्ला अस्पताल र नगरपालिकाले समन्वयमा संचालन गरेको आइसोलेसन व्यवस्थापनको जिम्मेवारीमा पनि छु । जसमा १७ वेड क्षमताको आइसोलेसन संचालनमा छ। क्वारेन्टाइनमा बस्दा हामीले उहाँहरुको मनोबाल उच्च राख्न प्रोत्साहन गर्ने गरेका छौँ साथै यहाँ बाट विदाई हुने बेलामा भारत लगाएतका विभिन्न देशबाट फर्केका युवाहरुलाई अब आफ्नै देशमा केही गर्नु पर्छ नगरपालिका र वडा तपाईँको साथमा छ भन्ने खालको सन्देश दिने गरेका छौँ ।

यस वर्षको बजेटमा यसरी रोजगारी गुमेर गाउँ फर्किएका युवाहरुको लागि के के योजना ल्याउनु भएको छ?

तपाईँ यस वर्ष नगरपालिकको बजेट हेर्न सक्नुहुन्छ, यसपाली हाम्रो बजेट कृषिमा केन्द्रित छ जसको लक्षित वर्ग यहीँ केही गर्न चाहने र यसरी बिदेशबाट दुख पाएर आएकाहरु नै हुनुहुन्छ । त्यसै गरी ८ नम्बर वडा  कार्यालयको बजेटमा पनि कृषि क्षेत्रलाई नै प्रोत्साहन गर्ने कार्यक्रमहरु छन्, उदाहरणको लागि हामीले एक घर एक हिलट्याङ्क कार्यक्रम यस वडाका नागरिकहरुलाई तरकारी खेती गर्न अझ प्रोत्साहित गर्न बनाएको कार्यक्रम हो ।

अब लकडाउनकै क्रममा आएका जनगुनासो तर्फ लागौँ । पुस्तौँ पुस्ता देखि लाग्दै आएको यस क्षेत्रकै महत्वपुर्ण मानिएको रामेछाप बजारको विहिबारे हाट कोरोना महामारी संकटका कारण बन्द गराउनु भयो । सुरक्षित व्यवस्थापन तर्फ नलागेर किन बन्द गराउनु भएको हो?

हाम्रो जिल्लाकै गहनाको रुपमा रहेको हाट बन्द नै गराउने उद्धेश्य हाम्रो थिएन र हैन । सामाजिक दुरी र सावधानी अपनाएर हाम्रो पालिकाको स्थानिय उत्पादनहरु विशेषत तरकारी, फलफुल र अन्नपातमात्र किनबेच गराउने प्रयास गरेका थियौँ । त्यसैले हामीले लकडाउन खुकुलो भएपछि र हटेपछी खुला गरेका थियौँ । तर यहाँ त खुद्रा पसल देखि जुता चप्पल, कपडा, खसी-बाख्रा लिएर आउन थाले र भिँडभाँड बढ्न थाल्यो । हाट हेर्दा त पहिलाकै जस्तो केही संकट नै छैन जस्तो देखियो । प्रहरी प्रशासनको संलग्नतामा व्यवस्थापन गर्न पनि खोजियो तर सँधै थेग्न नसक्ने भयो । देशव्यापि मापदण्ड पनि हाटबजार नलगाउने नै भएकाले कार्यपालिकाले हाट लाग्न नदिने नै निर्णय गरेको हो । हामीले यहाँका स्थानिय कृषक घरपरिवारलाई के अनुरोध गरेका छौँ भने विहिबार मात्रै तपाईको कृषि उपज रामेछापमा विक्री गर्न नल्याउनुस् । बरु अरु दिन झन् विक्री हुन्छ भनेका छौँ । त्यसैले हाललाई बिहिबारे हाट बन्द नै गरेका छौँ । पछि सहज भए पछि खुल्नेछ ।

अर्को जनगुनासो के छ भने, रामेछाप नगरपालिका र वडाहरुले अघिल्लो लकडाउनमा राहत वितरण गर्न तथ्यांक संकलन मात्र गर्यो तर कुनै खालका राहत वितरण गरेन । अब फेरी निशेधाज्ञा नै जारी भएको छ, अझै लम्बिन सक्ला यसबाट पिडित रोजगार विहिनहरुलाई राहत दिने के योजना छ ?

हो, हामीले अघिल्लो लकडाउनमा गाउँगाउँमा सामाजिक परिचालन नै गरेर राहत दिनु पर्ने घरधुरीको तथ्यांक संकलन गर्यौँ । राहत वितरण कार्य प्राय जसो विवादास्पद हुन्छ, भुकम्पकै राहत वितरणको कुरा हेरौँ । राहत भने पछि साँच्चै चाहिने र नचाहिने दवैथरी मान्छेले लिन खोज्छ । नगरपालिकाभरी राहत दिन पर्ने ७ हजार १ सय घरधुरी जति घरधुरी को सूची तयार भएको थियो । त्यस्तै राहत वितरण गर्ने भन्दा गरीखाने मजदुर वर्गलाई राहत दिनु भन्दा विकास निर्माणको काममा रोजगार दिने पनि योजना थियो । तत्पश्चात नै लकडाउन खुलिहाल्यो त्यसले गर्दा सबैको जनजीवन केही सहज भईहाल्यो । चैत्र बैशाखको लकडाउन भन्दा अहिलेको बेलामा जनतालाई के सहज छ भने त्यतिबेला अनिकालकै सिजन थियो अहिले खेतिपाति गर्ने र अन्न भित्र्याउने सिजन सुरु भईसकेको छ । त्यसले गर्दा अहिले गाह्रो भइसकेको छैन । त्यसैले तत्कालै राहत वितरणको सोचमा नगरपालिका र यस वडाले सोचेको छैन । अब फेरी यो निशेधाज्ञा र लकडाउन धेरै समय गयो र जनतालाई गाह्रै भयो भने हामी फेरी अर्को निर्णयमा जानेछौँ ।

जिल्ला प्रशासन कार्यालयले निशेधाज्ञा जारी गरेपछि मन्थलीमा प्रशासनले धेरै कडाई गरेको छ । तर मन्थली पछि दोस्रो ठुलो बजार रामेछापमा भने खासै निशेधाज्ञा कडाईका साथ पालना भएको छैन । यहाँले जोखिम कम गर्न के सोच्नु भएको छ ?

निशेधाज्ञा जनताकै सुरक्षाको लागि गरिएको हो, अझै केही बजारबासीले यसको पालना नगरेको पाइएको छ । यहाँ मन्थलीमा जतिको प्रहरी प्रशासनको उपस्थिति नभएर पनि यस्तो भएको हो । बजारबासीहरुले अटेर गरेर यस्तै गरिरहे र जोखिम बढ्यो भने हामी आफैँ कडाई गर्नतिर लाग्नेछौँ । पालिका र यस वडामा अन्य संक्रमित भएका ठाउँबाट आउने र जोखिम निम्त्याउने सम्भावना भने कायमै छ । हामीले नगरपालिका प्रवेश गर्ने नाकामा चेकजाँचको लागि विटार लगाएतका ठाउँमा पोस्ट पनि खडा गरेका थियौँ तर माथिल्लो निकायबाटै त्यसो नगर्न भनेकाले त्यो बन्द गर्यौँ । समुदायमा संक्रमण आउन नदिन हामी सचेत छौँ, यस वडामा मुख्य बजार र मुख्य प्रवेश नाका भएकोले समस्या निम्तने सम्भावना रहेमा नगर प्रमुख, जिल्ला प्रशासन र प्रहरी सँग थप कदमको लागि समन्वय गरिनेछ ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार