अब लक्षण भएका कोरोना सङ्क्रमितलाई मात्रै उपचारका लागि अस्पताल भर्ना गरिने

अब लक्षण भएका कोरोना सङ्क्रमितलाई मात्रै उपचारका लागि अस्पताल भर्ना गरिने

सरकारले लक्षण भएका कोरोना भाइरस सङ्क्रमितलाई मात्रै कोभिड–१९ उपचारका लागि तोकिएको अस्पतालमा राख्ने निर्णय गरेको छ ।पछिल्लो समय नेपालमा कोरोना सङ्क्रमणको दर बढेसँगै अस्पतालमा बेड अभाव हुन थालेपछि सरकारले लक्षण भएकाहरुलाई मात्रै अस्पतालमा भर्ना गर्ने निर्णय गरेको हो । मन्त्रिपरिषद्को बिहीबार बसेको बैठकको निर्णय हिजो सार्वजनिक गर्दै सरकारका प्रवक्ता समेत रहनुभएका अर्थमन्त्री डा युवराज खतिवडाले लक्षण नभएका सङ्क्रमितलाई आइसोलेसन सेन्टरमा राख्ने निर्णय गरिएको जानकारी दिनुभयो । यसका लागि काठमाडौं उपत्यकामा ६ हजार बेडको आइसोलेसन सेन्टर बनाउने सरकारको निर्णय समेत गरिएको उहाँले बताउनुभयो ।लक्षण नभएका तथा सामान्य लक्षण भएकाहरु होम आइसोलेसनमा बस्न सक्ने अवस्था भए त्यसका लागि स्वास्थ्य मन्त्रालयले तोकेको निकायले अनुमति दिनुपर्ने र त्यसको अनुगमन भने स्थानीय तहले गर्नेछन् । यस्तै प्रदेश मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयहरुलाई पनि जोखिमको मूल्याङ्कन गरेर आइसोलेसन सेन्टरहरु बनाउन भनिएको छ ।स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले कोरोना सङ्क्रमितको उपचारका लागि निजी अस्पताल, मेडिकल कलेज वा प्रतिष्ठानले कोभिड अस्पताल बनाउन सक्ने निर्णय भएको डा. खतिवडाले बताउनुभयो ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार