म भ्रष्टचार गर्दिन र सहन्न पनि : नगर प्रमुख थापा मगर

म भ्रष्टचार गर्दिन र सहन्न पनि : नगर प्रमुख थापा मगर

स्थानीय तहमा जनप्रतिनिधिहरुले उपभोक्ता समिति गठन नै नगरी अनियमितता भएको आरोप र आवाज उठन थालेको छ । निर्वाचनको क्रममा विकास र समृद्धिको नारा अगाडि सारेका जनप्रतिनिधिहरुले विकास निर्माणको काम अगाडि बढाउने कोशिस पनि गरेका छन् । तर अपेक्षाकृत रुपमा भने परिणामा निकाल्न सकिरहेका छैनन् । स्थानीय तहमा हुने विकास निर्माणको काम पारदर्शी हुनु पर्ने आवाज पनि उठदै आएको छ । रामेछापको रामेछाप नगरपालिकाभित्र पनि विकास निर्माणको काम धमाधम अगाडि बढेको छ । विकास निर्माणको काम पारदर्शी बनाउने गरी काम सुरु गरेको दावी रामेछाप नगरपालिकाका नगर प्रमुख नरबहादुर थापा मगरको छ । यसै विषयमा रामेछाप नगरपालिकाभित्र भएको विकास निर्माणको काम र आगामी योजना लगायतको विषयमा केन्द्रीत रहेर रामेछाप नगरपालिका नगर प्रमुख नर बहादुर थापामगरसँग गरिएको कुराकानीको सम्पादित अंश :

रामेछाप नगरपालिकाले गरेका कामहरु कतिको पारदर्शी छ ?

हामीले गरेका कामहरु पारदर्शी बनाउनको लागि विकास निर्माणको काम गर्नुपूर्व नै कार्यविधि बनाएका छौं । सोही कार्यविधि अुनसार उपभोक्ता समिति गठन गरेर काम गरिरहेका छौं । हरेक विकास निर्माणको काममा सार्वजनिक सुनुवाई गर्ने, नगरपालिकाभित्र भएका कामहरुको अनुगमन गर्ने, नगरका काम कार्यहरु कार्यपालिकाले निर्णय गरे अनुसार गर्ने लगायतको काममा प्रतिबद्ध भएर लागेका छौं ।

शिर्षक अनुसार काम नभएको गुनासो छ नि ?

जुन शीर्षको लागि भनेर हामीले बजेट छुटाएका हुन्छौ । त्यो बजेट त्यहीँ शिर्षकमा नै खर्च भएको छ । यदी त्यहीँ शिर्षकमा खर्च भएन भने पनि अथवा आवश्यक परेन भनेर आएको खण्डमा नगर सभाले अनुमोन गरेर परिवर्तन गर्ने भन्ने निर्णय पनि हामीले कार्यपालिका बैठकमा गरेका छौ ।

नगरपालिका भित्र  जनअपेक्षा अनुसार काम नएन भन्ने आरोप छ नि ?

नगरपालिकाको विकास गर्न हामी रात दिन नभनि लागेका छौं । रामेछाप नगरपालिकामा मात्र नभएर देशका धेरै स्थानीय तहहरुमा दक्ष कर्मचारीको अभाव छ । तर जति कर्मचारी छन उहाँहरुले आफूले गर्नुपर्ने कामहरु गरिरहनुभएको छ । उहाँहरुले गर्ने काम चित्त बुझ्दो नै छ ।

विकास निर्माणको काम पारदर्शी रुपमा अगाडि बढाउनको लागि के योजना अगाडि सार्नुभएको छ ?

रामेछाप नगरपालिकाभित्र कुनै पनि प्रकारको भष्टाचार हुन नदिन हामीले काकार्यविधि अनुसार अगाडि बढेका छौ । उपभोक्ता समिती कार्यविधि अनुसार नै बनाएका छौ । विकास निर्माणको सबालमा सार्वजनिक सुनुवाइ गरेका छौ । अब नगरभित्रका प्रत्येक वडामा हामीले सार्वजनिक सुनुवाई गर्ने गरेको छौ ।  सुशासन कायम गर्नको लागि हामीले हरेक तहमा अनुगमन गर्ने गरेका छौ ।

यदि रामेछाप नगरपालिकामा भ्रष्टाचार भएको कुरा बाहिर आयो भने नगरपालिकाले के गर्छ ?

रामेछाप नगरपालिकामा भ्रष्टचार भयो भन्ने कु्रा बाहिर आउँदैन । हामीले गरेका कामहरु सबै पारदर्शी नै छन् । म आफु पनि भ्रष्टचार गर्दिन र भ्रष्टचार गर्ने जो कोहीलाई पनि छोड्दिन । त्यसैले स्थानीय तह ऐनमा जे उल्लेख छ त्यही अनुसार भ्रष्टाचार गर्नेलाई कार्बाही गर्न म लागि पर्ने छु ।

भ्रष्टाचार मुक्त रामेछाप नगरपालिका बनाउन कसले के गर्नुपर्ला ?

त्यसको लागि नगरका हरेक कामहरुको एउटा कार्यविधि नै बनाएर हामी अगाडी बढेका छौ । सार्वजनिक सुनुवाइ र कामहरुको अनुगमनलाई हामीले प्राथमिकतामा राखेर अगाडी बढेका छौ । अब सबैभन्दा ठुलो कुरा इमान्दारीता हो । जो कर्मचारी इमान्दार छ उसले भ्रष्टाचार गर्दैन । त्यसैले सबै जना इमान्दार भएर काम गर्ने हो भने भ्रष्टाचार हँदैन ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार