रामेछापमा आजदेखि भदौ १३ गतेसम्म निषेधाज्ञा

रामेछापमा आजदेखि भदौ १३ गतेसम्म निषेधाज्ञा

कोरोना सङक्रमण तीब्र गतिमा फैलिन थालेपछि जिल्ला प्रशासन कार्यालय रामेछापले भदौ १३ गतेसम्म निषेधाज्ञाको घोषणा गरेको छ । आजराति १२ बजेदेखि लागू हुने गरी जिल्लामा निषेधाज्ञा लागू गरिएको हो । रामेछापका प्रमुख जिल्ला अधिकरी रुद्रादेवी शर्माले कोरोना रोकथाम तथा नियन्त्रणलाई थप प्रभावकारी बनाउन भदौ ४ गते राति १२ बजेदेखि अर्को आदेश जारी नभएसम्म रामेछाप जिल्लाभर लागू हुने गरी निषेधाज्ञा जारी गरिएको बताउनुभयो । सडकमा गुड्ने सवारी साधन र अत्यावश्यककाममा पैदल हिँड्नेसँग पनि प्रहरीले सोधपुछ गरेर मात्र छाड्ने गरेका छन् । ठाउँठाउँमा प्रहरीले माइकिङ गर्दै निषेधाज्ञाको पालना गर्न अपिल गरिरहेको छ ।

जिल्ला प्रशासन कार्यालय रामेछापका प्रमुख जिल्ला अधिकारीबाट जारी आदेश : 

विश्वभर महामारीको रुपमा फैलिएको कोभिड-19 संक्रमण यस जिल्ला भित्र निरन्तर बढी रहेको र उच्च स्तरमा बढ्ने जोखिम रहेको छ । यस जिल्लामा सो रोगको रोकथाम तथा नियन्त्रणलाई थप प्रभावकारी बनाउन जरुरी देखिएकोले नेपाल सरकार मन्त्रिपरिषद्को मिति 2077/05/01 को निर्णय बमोजिम संक्रमण रोग ऐन, 2020 को दफा 2 एवं स्थानीय प्रशासन ऐन, 2028 को दफा 6 (3) बमोजिम मिति 2077/05/04 गते राति 12:00 बजे देखि आदेश/सूचना जारी नभएसम्म रामेछाप जिल्लाभर लागू हुने गरी देहाय बमोजिमका गतिविधिहरु गर्न/गराउन निषेध गरिएको व्यहोरा सम्बन्धित सबैको जानकारीको लागि अनुरोध गरिएको छ ।

देहाय

  1. अत्यावश्यक सेवा (खाद्यान्न, स्वास्थ्य, सुरक्षा, खानेपानी, दुध, तरकारी, फलफूल, विद्युत, सूचना तथा सञ्चार, फोहोर व्यवस्थापन) बाहेकका अन्य सबै प्रकारका उद्योग, व्यापार, व्यवसाय, सञ्चालन गर्न ।
  2. औषधी, खाद्यान्न तथा अन्य अत्यावश्यक उपभोग्य वस्तु वा सेवा खरिदको काममा बाहेक कुनै पनि व्यक्ति घरबाट बाहिर निस्कन ।
  3. अत्यावश्यक कार्यमा मास्क विना घर बाहिर निस्कन ।
  4. फुटपाथ/खुल्ला ठाउँ, ठेलागाडा/साइकल, हाटबजारमा पसल/व्यापार सञ्चालन गर्न ।
  5. एम्बुलेन्स, बिरामी बोकेका गाडी, खाद्यवस्तु, तरकारी, दुध, खानेपानी, विद्युत, सञ्चार, पेट्रोलियम पदार्थ बोक्ने ट्याङ्कर, शव वहान, फोहोर व्यवस्थापन गर्ने गाडी, पशुपंक्षीका दाना बोक्ने गाडी, निर्माण सामाग्री, सञ्चारकर्मी, स्वास्थ्यकर्मी, पशु स्वास्थ्यकर्मी, प्राविधिक तथा सुरक्षा निकायले प्रयोग गर्ने साधन र प्रशासनको अनुमति प्राप्त साधन बाहेक सबै सार्वजनिक, निजी सवारी साधन (मोटरसाइकल समेत) सञ्चालन गर्न ।
  6. शैक्षिक संस्थाहरु, कुनै पनि प्रकारको मेला, महोत्सव, बैठक, समीक्षा, गोष्ठी, सेमिनार, सामूहिक जमघट, सभा, जुलुस, मनोरञ्जनस्थल, सैलुङ्ग, पार्लर, हेल्थ क्लब, खेलकुद कार्यहरु गर्न ।
  7. दैनिक रुपमा घर परिवार भित्र हुने नित्य पूजा बाहेकका सम्पूर्ण धार्मिक, सांस्कृतिक गतिविधिहरु सञ्चालन तथा जमघट गर्न।
  8. होटल, रेष्टुरेन्ट सञ्चालन गर्न ।
  9. यस जिल्लाको प्रवेश नाका सेलेघाट, खैरेनीघाट, लुभुघाट, नवलपुरघाट, खिम्ति, धारापानी, साँघुटार लगायत प्रवेश नाकाहरुबाट बेलुका 7:00 बजे देखि विहान 5:00 बजे सम्म पैदल आवात जावत गर्न ।
  10. सहकारी, वित्तीय संघ/संस्थाहरुले समुदायमा गई बचत संकलन गर्न ।
  11. अत्यावश्यक सेवाका र मालवाहक ढुवानी साधन एवं जिल्लाको अनुमति विनाका सवारी साधन यस जिल्ला भित्र प्रवेश गर्न ।

तर

  1. स्वास्थ्य तथा सुरक्षाका मापदण्ड पूरा गरेर उपभोग्य बस्तु विक्री गर्ने, खाद्यान्न लगायतका अत्यावश्यक सेवाका पसलहरु विहान 5:00 बजेबाट 9:00 बजे सम्म सञ्चालन गर्ने व्यवस्था मिलाउने ।
  2. सबै सरकारी तथा सार्वजनिक कार्यालयहरु, बैंक तथा वित्तीय संस्थाहरुले न्यूनतम मात्रामा कर्मचारी उपस्थित गराई कार्यालय सञ्चालन गर्ने र सो बाहेकका अन्य कर्मचारीलाई सुरक्षित घरबाटै कार्यहरु गर्ने व्यवस्था कार्यालय प्रमुखले मिलाउने । सकेसम्म विद्युतीय माध्यमबाट सेवा प्रवाहको व्यवस्था मिलाउने ।
  3. बैक वित्तीय संस्था/सहकारी कार्यालयहरु विहान 9:00 बजे देखि दिउँसो 1:00 बजे सम्म मात्र सञ्चालन गर्ने व्यवस्था मिलाउने ।

साथै

  1. अत्यावश्यक उपभोग्य वस्तु तथा सेवाको आपूर्तिमा कृत्रिम अभाव सिर्जना गर्ने, मुल्यवृद्धि गर्ने, म्याद नाघेका सामान विक्रि वितरण गर्ने, आपूर्तिमा अवरोध गर्नेलाई प्रचलित कानून बमोजिम कार्वाही हुनेछ ।
  2. उल्लेखित आदेशको उलंघन गर्ने र पालना गर्न/गराउन अवरोध गर्नेहरु उपर प्रचलित कानून बमोजिम कार्वाही हुनेछ ।
  3. कोभिड-१९ को बढ्दो संक्रमण र असहज अवस्थामा आदेशको पूर्ण पालना गरी/गराई यसको रोकथाम र नियन्त्रणको लागि सहयोग प्रदान गर्नु हुने सम्पूर्ण जिल्लावासी महानुभावहरुमा हार्दिक धन्यवाद ज्ञापन गर्दछौं ।

 

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार