काठमाडौँ उपत्यकामा आज राति १२ बजेबाट एकहप्ताका लागि निषेधाज्ञा जारी गरिएको छ । कोरोना सङ्क्रमण बढ्न थालेपछि त्यसको रोकथाम तथा नियन्त्रणका लागि भन्दै निषेधाज्ञा जारी गरिएको हो । काठमाडौँ, ललितपुर र भक्तपुरका प्रमुख जिल्ला अधिकारीहरू, तीनवटै जिल्लाका प्रहरी (महानगरीय प्रहरी परिसर) प्रमुख लगायत सम्वन्ध सुरक्षा अधिकारीहरूको हिजो साँझ बसेको बैठकले निषेधाज्ञा जारीको निर्णय गरेको हो । काठमाडौँका प्रमुख जिल्ला अधिकारी जनकराज दाहालले निषेधाज्ञामा अत्यावश्यक सेवा वाहेक अन्य सवारीको सञ्चालनमा निषेध गरिएको बताउनुभयो । निषेधाज्ञा आज रातिबाट शुरु भएर अर्को बुधवारसम्म रहने छ ।
खाद्यान्न, किराना, फलफूल तथा तरकारी पसलहरू सञ्चालका लागि विहान र वेलुकानिश्चित समय तोकिएको छ । विरामी, मलामीका लागि सुरक्षाकर्मीसँग समन्वय तथा स्वास्थ्यकर्मी र सञ्चारकर्मीका लागि परिचयपत्र अनिवार्य गरिएको छ । समुदायस्तरमा कोरोना सङ्क्रमण फैलिंदा पनि सर्वसाधारणले अटेर गरेका कारण उपत्यकामा कोरोना सङ्क्रमण जटिल बन्दै गएको सरकारको भनाइ छ । गृह मन्त्रालय तथा जिल्ला प्रशासन कार्यालयबाट प्रदान गरिने सवारी पास यसअघि नै खारेज भइसकेको छ ।
भदौ ३ अर्थात् आज बुबाको मुख हेर्ने दिन (बुवा खुवाउने औंसी) र ५ गते हरितालिका तीज पर्व रहेको छ । यी दुई चाडमा विभिन्न धार्मिक मठ मन्दिरमा तीर्थालु सर्वसाधारणको बाक्लो भीड लाग्ने भएकाले कोरोना सङ्क्रमण थप फैलिन नदिन निषेधाज्ञा जारी गर्नु परेको प्रशासनको भनाइ छ । हिजो मंगलवारमात्र काठमाडौँ उपत्यकामा दुईसय पाँच जनामा कोरोना सङ्क्रण पुष्टि भएको छ । कोरोना महामारी रोकथाम तथा नियन्त्रणका लागि सरकारले जारी गरेको स्वास्थ्य र सुरक्षा सम्वन्धी मापदण्डको पालना नहुँदा सङ्क्रमण फैलिएको भन्दै सरकारले कडाई गर्न लागेको हो ।