दुई सेनाका जवानसहित ५३ जनामा कोरोना सङ्क्रमण पुष्टि

दुई सेनाका जवानसहित ५३ जनामा कोरोना सङ्क्रमण पुष्टि

नारायणी अस्पतालमा कार्यरत स्वास्थ्यकर्मी, दुई जना नेपाली सेनाका जवानसहित ५३ जनामा कोरोना सङ्क्रमण पुष्टि भएको हो । सङ्क्रमित हुनेमा पर्साका ५० जना र बाराका ३ जना रहेका छन् । वीरगञ्जस्थित आर्मी क्याम्पका ३४ वर्षका २ जना नेपाली सेनामा कोरोना देखिएको छ । यसअघि गत मङ्गलबार गरिएको पीसीआर परीक्षणमा ३४ जना सक्रमित मध्ये १ जना सेनाका जवान थिए । कन्ट्याक्ट ट्रेसिङ गर्दै जाँदा नेपाली सेनाका थप २ जनामा कोरोना पुष्टि भएको पाइएको हो । ११ जना अस्पतालको क्वार्टरमा बस्दै आएका र ४ जना अस्पतालमा कार्यरत स्वास्थ्यकर्मी तथा कर्मचारीमा कोरोना सङ्क्रमण देखिएको नारायणी अस्पताल स्रोतले जनाएको छ ।

अस्पतालको क्वार्टरमा बस्ने ३२, ३५, २० र ११ वर्षीया महिला, ४१, २९, ४६, २४, १९, ५३ र ३९ वर्षका पुरुषमा कोरोना सङ्क्रमण देखिएको छ । अस्पतालमा कार्यरत ३० वर्षीया एकजना महिला तथा ३८, ३० र २४ वर्षका तीन जना पुरुषमा पनि कोरोना देखिएको छ । काठमाडौँमा १४ सहित दुई सय १० जना कोरोना सङ्क्रमित थपिएका छन् । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले नियमित कोभिड–१९ सम्बन्धी जानकारी दिने क्रममा विभिन्न प्रयोगशालामा गरिएको परीक्षणमा दुई सय १० जनामा कोरोना सङ्क्रमण पुष्टि भएको जनाएको हो । योसँगै नेपालमा कोरोना सङ्क्रमितको सङ्ख्या १९ हजार चार सय ८३ पुगेको मन्त्रालयका प्रवक्ता डा जागेश्वर गौतमले जानकारी दिनुभयो ।

यसैबीच बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान, धरानमा उपचारका क्रममा एकजनाको मृत्यु भएसँगै नेपालमा कोरोनाका कारण मृत्यु हुनेको सङ्ख्या ५२ पुगेको छ । मृतक केही दिन अघि भारतबाट आएको खुलेको छ । कोरोना सक्रमण पुष्टि भएपछि कोशी अस्पताल विराटनगरले गम्भिर अवस्थाका मोरङ सुनबर्सी नगरपालिका ८ सिक्टीका ४५ वर्षीय पुरुषलाई धरान रिफर गरिएको थियो । दिउँसो धरान पुगेका पुरुषको बेलुका पौने ५ बजे मृत्यु भएको प्रतिष्ठानका प्रवक्ता डाक्टर निदेश सापकोटाले बताउनुभयो ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार