समुदायस्तरमै कोरोनाको सङ्क्रमणको लक्षण, जनप्रतिनिधि र चिकित्सक चिन्तित

समुदायस्तरमै कोरोनाको सङ्क्रमणको लक्षण, जनप्रतिनिधि र चिकित्सक चिन्तित

सरकारले साउन ७ गते मध्यराति देखि झण्डै ४ महिना यताको लकडाउन अन्त्य भएको घोषणा ग¥यो । सरकारले लकडाउन अन्त्य भएको घोषणा गरेको ४ दिनमा प्रदेश २ मा कोरोना सङ्क्रमणका कारण ५ जनाको मृत्यु भइसकेको छ भने समुदाय स्तरमै सङ्क्रमण फैलिएको हुनसक्ने चिकित्सकहरुले बताईरहेका छन् । दुई दिन पर्साका एक जना १७ वर्षका किशोरीको पनि कोरोना सङ्क्रमणका कारण मृत्यु भयो । विरगञ्ज महानगरपालिका २१ परवारीपुर गाउँमा बस्दै आएका उनमा पनि कुनै स्वास्थ्य समस्या नभएको वडा नम्बर २१ का अध्यक्ष हबिब मिया बताउनुहुन्छ ।

वीरगञ्ज माईस्थान घर भएका एकजना ७० वर्षका व्यक्तिको कोरोना सङ्क्रमणका कारण अस्ति साउन ६ गते उपचारको क्रममा मृत्यु भयो । मृतकमा कुनै पनि स्वास्थ्य समस्या थिएन, न त उनको कुनै यात्रा विवरण नै थियो । सप्तरीको राजविराज नगरपालिकामा पनि समुदायस्तरमै कोरोना सङ्क्रमण फैलिसकेको नगरपालिकाका उप प्रमुख साधना झाले बताउनुभयो । सरकारले लकडाउन अन्त्य गरेसँगै कोरोना परीक्षणको जाँचलाई घटाउँदै गएको छ । पछिल्लो समय प्रदेश दुईका विभिन्न स्थानमा देखिएका कोरोना सङ्क्रमितको कुनै पनि यात्रा विवरण पाइएको छैन भने व्यक्तिहरुमा पनि स्वास्थ्य समस्या नरहेको चिकित्सकहरुको भनाइ छ ।

सरकारले कोरोना परीक्षणका लागि शुल्क तिरेर कोरोना परीक्षण गराउन सक्ने व्यवस्था गरेसँगै सर्वसाधारणले जाँच गराउँदा कोरोना सङ्क्रमण देखिन थालेको वीरगञ्जस्थित गण्डक अस्थायी कोभिड अस्पतालका संयोजक डाक्टर उदयनारायण सिंहले जानकारी दिनुभयो । स्वास्थ्य विज्ञहरुका अनुसार समुदायस्तरमा कोरोना सङ्क्रमण फैलिएमा त्यसले भयावह रुपले लिनेछ । समुदायस्तरमा कोरोना सङ्क्रमण फैलियो भने त्यसले एक दिनमा ३ जनामा, ३ जनाले ९ जनालाई, ९ जनाले २७ जनालाई गर्दै १० साइकल पूरा हुँदा ४९ हजारलाई सङ्क्रमित बनाउन सक्छ । समुदाय स्तरमा कोरोना सङ्क्रमण फैलिए त्यसले विशेषगरी दीर्घरोगी, बालबालिका सहित समुदायका सबैलाई समस्यामा पार्न सक्ने चिकित्सकहरुले बताएका छन् ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार