विदेशमा अलपत्र परेका नेपालीको उद्धारका लागि जुलाई ३१ अर्थात अबको पाँच दिन पछि चौथो चरणको उद्धार उडान गरिने भएको छ । विदेशबाट नेपाली फर्काउन नेपालका तर्फबाट दुई नेपाल एयरलाइन्स र हिमालय एयरलाइन्सले उद्धार उडान गर्ने भएका हुन् । छिट्टै उद्धार उडानको तालिका बनाइने निगमका प्रवक्ता अर्चना खड्काले जानकारी दिनुभयो । यसैबीच निगमको जुलाई २७ तारिखका लागि तय भएको बैंगलौर–काठमाडौँ उद्धार उडान दुई दिनपछि अर्थात् जुलाई २७ तारिखका लागि सारिएको विज्ञप्ति मार्फत जानकारी गराईएको छ । यसबाट यात्रुवर्गलाई पर्न गएको असुविधामा निगमले माफी मागेको छ ।
निगमका उद्धार उडान तालिका र भाडादर सम्बन्धि जानकारी चाहिएमा निगम कार्यालयमा फोन तथा वेवसाईटमा हेर्न पनि निगमले अनुरोध गरेको छ । हिमालयले पनि ३१ जुलाईमा चीनको कुनमिङमा चार्टर्ड उडान गर्ने जनाएको छ । थप उडानको यकिन भइनसकेको कम्पनीले उल्लेख गरेको छ । सरकारले गत जेठ १६ गते तेस्रो मुलुकमा रहेका नेपाली नागरिकलाई प्राथमिकीकरण गरेर स्वदेश फर्काउने निर्णय गरेको थियो । कोभिड–१९ सङ्कट व्यवस्थापन केन्द्र (सिसिएमसी) को निर्णयअनुरुप विभिन्न चरणमा नेपाली स्वदेश फर्काइएको हो । अहिलेसम्म करिब ३५ हजार नेपाली स्वेदश फर्किसकेका छन् । सरकारले आगामी भदौ एक गतेदेखि आन्तरिक तथा अन्तरराष्ट्रिय व्यावसायिक उडान शुरु गर्ने निर्णय गरिसकेको छ ।