सुकुम्बासीको घर जलाएको र भत्काएको बारेमा छानबिन सुरु

सुकुम्बासीको घर जलाएको र भत्काएको बारेमा छानबिन सुरु

चितवनको कुसुमखोलामा सुकुम्बासीको घर जलाएको र भत्काएको बारेमा छानबिन गर्न बनाइएको समितिले काम सुरु गरेको छ । यसका लागि वन मन्त्रालयको टोली चितवन गएको छ । कुसुमखोला घटना विवादित बनेपछि वन मन्त्रालयका सहसचिव यज्ञनाथ दाहालको नेतृत्वमा तीन सदस्यीय टोली छानबिनका लागि बनाइएको थियो । टोलीमा निकुञ्ज विभागका उपसचिव बिमल आचार्य र अधिकृत हेमराज आचार्य पनि रहनुभएको छ । छानबिन टोलीले सुकुम्वासी बस्ती, निकुञ्जको अतिक्रमित क्षेत्र, घटनाको प्रकृति जस्ता विषयमा अनुसन्धान गरी प्रतिवेदन मन्त्रालयलाई बुझाउने मन्त्रालयका प्रवक्ता डाक्टर सिन्धु ढुंगानाले बताउनुभयो ।

यसैबीच राष्ट्रिय मानव अधिकार आयोगले यही साउन १ गते नेपाली सेनाले नियन्त्रणमा लिएर कुटपीट गरी यातना दिएपछि मृत्यु भएको घटनाको अनुसन्धान सुरु गरेको छ । आयोगले घटनाप्रति आफ्नो ध्यनाकर्षण भएको जनाउदै अनुसन्धान सुरु गरेको हो । घटनामा संलग्नलाई तत्काल कानुनी दायरामा ल्याउन र मृतकका परिवारलाई क्षतिपूर्ति उपलब्ध गराउन निर्देशन दिइएको आयोगका सचिव एवम प्रवक्ता वेदप्रसाद भट्टराइले बताउनुभयो ।

नेपाली सेनाले भने चितवन राष्ट्रिय निकुञ्जमा सैनिकको कुटपिटबाट एक जना स्थानीयको मृत्यु भएको भनिएको घटनाबारे छानबिन सुरु भइसकेको जनाएको छ । नेपाली सेनाले एक विज्ञप्ति जारी गर्दै यस विषयमा आन्तरिक छानबिन सुरु भइसकेको जनाएको हो । चितवन राष्ट्रिय निकुञ्जको सुरक्षाका लागि बसेका सैनिकको नियन्त्रणमा रहेका पूर्वी चितवनको राप्ती नगरपालिका २ मिलन टोलका २४ वर्षका राजकुमार चेपाङको मृत्यु भएको उहाँको परिवारले बताउँदै आएको छ । सेनाको कुटपिटबाट मृत्यु भएको भन्दै राजकुमारका बुबा विष्णुलाल चेपाङले घटनाको छानबिन गर्न र दोषीलाई सजाय दिन माग गर्दै आउनुभएको छ ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार