मन्थली–२ कठजोर खोलामा आगलागी हुँदा घर पूर्ण रूपमा नष्ट

मन्थली–२ कठजोर खोलामा आगलागी हुँदा घर पूर्ण रूपमा नष्ट

रामेछापको मन्थली नगरपालिका–२ कठजोर खोलामा विद्युत् लाइन सर्ट हुँदा एक घरमा आगलागी भएको छ। आगलागीबाट घर पूर्ण रूपमा जलेर नष्ट भएको छ।

बिहीबार साँझ करिब ७ः३० बजे स्थानीय ५७ वर्षीय एकबहादुर भुजेलको ढुङ्गा र सिमेन्टले बनेको, टायलको छाना भएको दुई तल्ले कच्ची घरमा अचानक विद्युत् लाइन सर्ट भई आगलागी भएको जिल्ला प्रहरी कार्यालय रामेछापले जनाएको छ।

आगलागीको खबर प्राप्त हुनासाथ जिल्ला प्रहरी कार्यालय रामेछापबाट प्रहरी टोली घटनास्थलमा पुगेको थियो। स्थानीयवासी, प्रहरी र दमकलको संयुक्त प्रयासमा आगो नियन्त्रणमा लिइएको प्रहरीले जनाएको छ।

आगलागीबाट घरभित्र रहेका अन्नपात, लत्ताकपडा, भाँडावर्तन, गरगहना, फर्निचरलगायतका सामान जलेर नष्ट भएका छन्। आगलागीबाट चौपायामा भने कुनै क्षति नभएको बताइएको छ।

घरमा आगलागी भएको देखेपछि घरधनी ५३ वर्षीया उर्मिला भुजेल र बुहारी मन्जु भुजेल  अचानक बेहोस हुनुभएको थियो। उहाँलाई प्रहरीको गाडीमार्फत उपचारका लागि मन्थलीतर्फ पठाइएको प्रहरीले जनाएको छ।

आगलागीबाट भएको क्षतिको विस्तृत विवरण भने खुल्न बाँकी रहेको जिल्ला प्रहरी कार्यालय रामेछापले जनाएको छ। घटनाबारे थप अनुसन्धान भइरहेको छ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार