रामेछाप खाँडादेवी गाउँपालिकाको निर्माणाधीन अस्पतालको काम अन्तिम चरणमा 

रामेछाप खाँडादेवी गाउँपालिकाको निर्माणाधीन अस्पतालको काम अन्तिम चरणमा 

रामेछापको खाँडादेवी गाउँपालिकामा लामो समयदेखि निर्माणाधीन अवस्थामा रहेको अस्पतालको निर्माण कार्य अन्तिम चरणमा पुगेको छ। निर्माणमा लामो समयदेखि देखिएको अवरोध र विभिन्न प्रक्रियागत जटिलताका कारण रोकिँदै आएको अस्पताल निर्माण कार्य पछिल्लो समय पुनः अघि बढेको हो।

अस्पताल निर्माणको पछिल्लो अवस्थाबारे जानकारी लिन गाउँपालिका अध्यक्ष, प्रमुख प्रशासकीय अधिकृत, लेखा अधिकृत लगायतको टोलीले निर्माणस्थलको स्थलगत अनुगमन गरेको छ।

अस्पताल निर्माणमा विगतमा निर्माण व्यवसायीले सम्झौताअनुसार काम सम्पन्न नगरेको र भुक्तानी भएको रकमको तुलनामा कामको प्रगति पर्याप्त नभएको विषयमा उजुरी परेपछि अख्तियार दुरुपयोग अनुसन्धान आयोगबाट समेत छानबिन भएको जनाइएको छ। निर्माण व्यवसायीले प्रारम्भिक समयमा सम्झौता गर्न नआएको, त्यसपछि सम्झौता गर्ने म्यादसमेत सकिएको र कर्मचारीहरूबाट म्याद थपलगायतका प्रक्रिया अघि बढाउन कठिनाइ भएको अवस्थाले अस्पताल निर्माण थप जटिल बनेको थियो।

पछिल्लो समय अस्पताल निर्माणलाई शीघ्र सम्पन्न गर्न अख्तियारबाट समेत आवश्यक प्रक्रिया टुंग्याएर निर्माण कार्य अघि बढाउन दबाब आएको बताइएको छ। निर्माण व्यवसायीले बैंक ग्यारेन्टीसहित निर्माण कार्य अघि बढाउने प्रतिबद्धता जनाए पनि म्याद थपलगायतका कानुनी प्रक्रियामा देखिएको अन्योलका कारण प्रशासनिक तहमा समेत समस्या उत्पन्न भएको थियो।

अस्पताल निर्माणसम्बन्धी विषयमा गाउँपालिका अध्यक्षले अख्तियारसँग आवश्यक समन्वय गरिरहेको र निर्माण कार्यलाई कानुनी तथा प्रक्रियागत रूपमा टुंगोमा पुर्‍याएर अस्पताललाई पूर्णता दिने प्रयास भइरहेको जनाइएको छ। अख्तियारबाट तत्काल अस्पताल निर्माण सम्पन्न गर्न वा आवश्यक परे ठेक्का सम्झौता तोड्ने गरी प्रक्रिया अघि बढाउन दबाब रहेको अवस्थामा कानुनी जटिलता उत्पन्न नहोस् भन्नेतर्फ समेत गाउँपालिका प्रशासन सचेत रहेको बताइएको छ।

यसैबीच, निर्माण व्यवसायीले ठेक्का सम्झौता गर्दाका बखत लिएको जिम्मेवारीअनुसार भवन निर्माण सम्पन्न गरी हस्तान्तरण गरेको अवस्थामा गाउँपालिकाले सम्झौताअनुसार भुक्तानी गर्ने प्रतिबद्धता जनाएको छ। भवन निर्माण सम्पन्न गर्न आवश्यक रकम भुक्तानीका लागि गाउँपालिकाले बजेट व्यवस्थापन गर्दै आएको जनाइएको छ।

अस्पताल निर्माणका लागि पहिलो वर्षमै करिब एक करोड २५ लाख रुपैयाँ आवश्यक पर्ने अवस्थामा गाउँपालिकाले एक करोड ३० लाख रुपैयाँ बजेट विनियोजन गरेको थियो। त्यसपछि पनि विभिन्न समयमा गाउँपालिकाले रकम छुट्याउँदै आएको छ। गत आर्थिक वर्षमा प्रदेश सरकारबाट विनियोजन भएको ६५ लाख रुपैयाँ खर्च हुन नसकी फिर्ता गएको थियो भने चालु आर्थिक वर्षमा पनि प्रदेश सरकारबाट अस्पतालका लागि ७० लाख रुपैयाँ विनियोजन भएको जनाइएको छ।

हाल निर्माणस्थलको अवस्था हेर्दा अस्पताल भवनको झ्याल तथा ढोकाको काम सम्पन्न भइसकेको छ। भवनमा रङ लगाउनुअघि गरिने प्राइमरको कामसमेत भइसकेको छ भने पल्म्बिङ,फ्लोरिङ तथा चिप्स, लगाउनेलगायतका कामहरू पनि अन्तिम चरणमा पुगेका छन्। समग्र निर्माणको अवस्था हेर्दा अब अस्पताल भवनमा ठूलो परिमाणको काम बाँकी नरहेको गाउँपालिकाले जनाएको छ।

निर्माण व्यवसायीले आवश्यक कामलाई तीव्रता दिएमा अबको करिब तीन महिनाभित्र भवन निर्माण सम्पन्न गरी गाउँपालिकालाई हस्तान्तरण गर्ने अपेक्षा गरिएको छ।

लामो समयदेखि निर्माणाधीन अवस्थामा रहेको अस्पतालले पूर्णता पाएपछि स्थानीय नागरिकले आफ्नै गाउँपालिकाबाट नियमित स्वास्थ्य सेवा प्राप्त गर्ने बाटो खुल्नेछ। अस्पताल सञ्चालनमा आएपछि चिकित्सकसहितको नियमित जनरल स्वास्थ्य सेवा स्थानीयस्तरमै उपलब्ध हुने र सामान्य उपचारका लागि टाढा जानुपर्ने बाध्यता कम हुने अपेक्षा गरिएको छ।

अस्पताल निर्माणको पछिल्लो अवस्थाको अनुगमन गर्दै गाउँपालिका अध्यक्षसहितको टोलीले बाँकी रहेका कामहरू निर्धारित मापदण्डअनुसार गुणस्तरीय रूपमा समयमै सम्पन्न गर्न आवश्यक समन्वय तथा सहजीकरण गर्ने विषयमा समेत चासो दिएको छ। लामो समयदेखि रोकिएको अस्पताल निर्माणले अब गति लिएको र निर्धारित समयभित्र भवन सम्पन्न भई स्थानीय नागरिकले आफ्नै पालिकाबाट स्वास्थ्य सेवा पाउने विश्वास गरिएको छ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार