सवारी दुर्घटना न्यूनीकरण तथा सडक सुरक्षा कायम गर्ने उद्देश्यले रामेछाप प्रहरीले सञ्चालन गरेको लागू पदार्थ सेवन (लापसे) परीक्षणका क्रममा दुई जना चालक पक्राउ परेका छन्।
जिल्ला प्रहरी कार्यालय रामेछाप, जिल्ला ट्राफिक प्रहरी कार्यालय रामेछाप र मन्थली अस्पतालको संयुक्त आयोजनामा मंगलबार बिहान ९ बजेदेखि दिउँसो १२ बजेसम्म मन्थली नगरपालिका–१ रामनारायण चोकस्थित सडकमा सार्वजनिक सवारी साधनका चालकहरूको लापसे परीक्षण गरिएको थियो।
परीक्षणका क्रममा लागू पदार्थ सेवन गरी सवारी साधन चलाएको पाइएपछि दुई जना चालकलाई प्रहरीले नियन्त्रणमा लिएको जिल्ला प्रहरी कार्यालय रामेछापले जनाएको छ। पक्राउ परेका चालकहरूलाई प्रचलित कानुनबमोजिम कारबाही गरी रामेछाप जिल्ला अदालतबाट थप अनुसन्धानका लागि म्याद थप गरिएको प्रहरीले जनाएको छ।
पक्राउ पर्नेमा दोलखा जिल्लाको तामाकोशी गाउँपालिका–२ डाँडागाउँ बस्ने ३७ वर्षीय सञ्जु कार्की रहेका छन्। उनी प्रदेश ३–०१–००४ ख ९५०७ नम्बरको बसका चालक हुन्।
त्यस्तै, सिन्धुलीको कमलामाई नगरपालिका–११ ठूलो तेस्रे बस्ने २२ वर्षीय सुरेश मोक्तान पनि पक्राउ परेका छन्। उनी मधेश प्रदेश ०३–००१ त ९९३८ नम्बरको ट्याक्टरका चालक रहेको प्रहरीले जनाएको छ।
प्रहरीका अनुसार लागू पदार्थ सेवन गरी सवारी चलाउँदा दुर्घटनाको जोखिम बढ्नुका साथै चालक तथा यात्रुको ज्यानसमेत जोखिममा पर्ने भएकाले लापसे परीक्षणलाई निरन्तरता दिइनेछ। जिल्ला प्रहरी कार्यालय रामेछापले सवारी चालकहरूलाई मादक तथा लागू पदार्थ सेवन गरी सवारी नचलाउनसमेत आग्रह गरेको छ।


