रामेछापको रामेछाप नगरपालिकाका ६५ जना बेरोजगारले एक सय दिनको रोजगारी पाएका छन । प्रधानमन्त्री रोजगार कार्यक्रम अन्तर्गत यस वर्ष ९ वटै वडामा सूचिकृत भएका ४ सय ५६ जना बेरोजगार युवाहरुमध्ये ६५ जनाले एक सय दिनको रोजगारी पाएका हुन ।
२ सय ९२ पुरुष र १ सय ६४ जना बेरोजगार महिला सूचिकृत भएको भएपनि ६५ जनाले मात्रै रोजगारी पाएको नगरपालिकाका रोजगार संयोजक विजय बरालले जानकारी दिनुभयो । यस वर्ष बजेट थोरै भएका कारणले पनि धेरैलाई रोजगारी दिन नसकिएको उहाँले बताउनुभयो ।
४३ लाख ८० हजार रुपैया बजेट रहेकाले सोही बजेट अनुसार सूचिकृत भएकामध्ये ६५ जनाले मात्रै रोजगारी पाएका हुन । उनिहरुले नगरका विभिन्न आयोजनाहरु अन्तर्गत पार्टीपौवा,पुराना धारा र सडक मर्मत जस्ता कामहरुमा रोजगारी पाइरहेको संयोजक बरालले बताउनुभयो ।
जेठ मसान्तसम्म सबै काम सकिने उहाँले बताउनुभयो । उनिहरुलाई कार्यस्थलमा खटिनुअघि ४० दिनको तालिम र १० दिनको जीवनउपयोगी सिप सिकाइएको छ । गत वर्ष ९५ जना बेरोजगारले रोजगारी पाएका थिए ।