रामेछापमा वेब सर्फर इन्टरनेटको सेवा गुणस्तरहीन हुँदा उपभोक्ता हैरान भएका छन । जिल्लाको पुरानो सदरमुकाम रामेछाप बजार लगायत सबैजसो स्थानमा वेब सर्फर इन्टरनेटको सेवा प्रभावकारी नहुँदा सर्वसाधारणले सास्ती खेप्दै आएका छन् ।
रामेछाप नगरपालिका वडा नं ७ को वडा कार्यालयमा वेब सर्फर इन्टरनेट सेवाले काम नगर्दा सेवाग्राही मारमा परेका छन । वेब सर्फर इन्टरनेट बारम्बार अबरुद्ध हुँदा सेवाग्राहीलाई मारमा पार्ने गरेको वडाअध्यक्ष समिर कार्कीले बताउनुभयो । ४/५ दिनदेखी इन्टरनेट नचल्दा सेवाग्राहीहरु छिटो–छरितो सेवा पाउनबाट वञ्चित हुने गरेको उहाँको भनाई छ । यो इन्टरनेटले आफ्नो सेवामा सुधार नगरे अर्को विकल्प खोज्न बाध्य हुने उहाँले बताउनुभयो ।
रामेछाप बजारका अर्जुन कुमार थापाले एक वर्षको रिचार्ज सहित यो इन्टरनेट जडान गर्नुभएको छ तर १ हप्ताभन्दा बढी समयदेखी इन्टरनेट नचल्दा समस्या भएको छ । ‘म घरमै बसेर अनलाईन मार्फत काम गर्छु । नेट नचलेको १ हप्ता भयो । मन्थलीको कार्यालयमा फोन गर्दा फोन उठ्दैन । यस्तो झुर ईन्टरनेटलाई रामेछापबाट बहिष्कार गर्नुपर्छ ।’– उहाँले आक्रोश पोख्नुभयो ।
रामेछाप नगरपालिका ७ की तुलसा कार्कीले पनि वेब सर्फरको इन्टरनेट जडान गर्नुभएको छ । टेलिकम सहित अन्य विभिन्न कम्पनीका ईन्टरनेट भएपनि प्रयोगकर्ता कम भएका कारण राम्रो चल्ने भन्दै यो नेट जडान गरेर गल्ती गरेको उहाँले बताउनुभयो । ‘एक दिन नेट गयो भने १० दिन आउँदैन । नेट चलेपनि असाध्यै स्लो चल्ने गरेको छ ।’ उहाँले भन्नुभयो ।
रामेछाप नगरपालिका ७ कै राशी कार्कीले पनि वेब सर्फर ईन्टरनेट जडान गरेर अनलाईन मार्फत घरमै बसेर काम गर्दै आउनुभएको थियो । गत शुक्रबारदेखी ईन्टरनेट नचलेकोले मोबाईलमा डाटाप्याक तानेर काम गर्दै आएको बताउनुभयो । ‘मैले वेब सर्फर नेटको मन्थली कार्यालयमा दैनिक १० पटकभन्दा बढी फोन गर्छु,हप्ता दिनभन्दा बढी भो फोन उठ्दैन’,यो नेटले सेवाभन्दा बढी हैरानी दिएको उहाँको गुनासो छ ।
लामो समयदेखि वेब सर्फर इन्टरनेटले राम्रो काम नगर्दा सेवा भन्दा सास्ती बढी भएको गुनासो आइरहेको छ । १ हप्तादेखी अबरुद्ध रहेको सेवा किन सुचारु हुन सकेन भनेर बुझ्न वेब सर्फर इन्टरनेटको कार्यालय मन्थलीमा सम्पर्क गर्दा सम्पर्क हुन सकेन ।