गौरीशंकर बहुमुखी क्याम्पस रामेछापको नव निर्मित विद्यालय भवनमा नयाँ डेस्क बेन्च,सेतो पाटी र रोस्टम आईपुगेको छ । बाग्मती प्रदेश शिक्षा निर्देशनालयको ४ लाख ९३ हजार लागतमा खरिद गरिएका फर्निचरका सामाग्रीहरु कक्षाकोठामा राखिएको हो । क्याम्पस संचालक समितिका अध्यक्ष सन्देश घिमिरे,क्याम्पस प्रमुख प्रदिप कुमार श्रेष्ठ सहितको उपस्थितीमा फर्निचरका सामाग्रीहरु व्यवस्थापन गरिएको हो ।
क्याम्पस संचालक समितिका अध्यक्ष घिमिरेको अध्यक्षतामा संचालक समिति बनेको २ वर्ष भएको छ । यो अवद्यिमा भौतिक संरचना निर्माण र थप संरचनाको लागी पहलको काम भैरहेको छ । अब क्याम्पसमा विद्याथी संख्या बढाउनेगरी शैक्षिक गुणस्तरलाई ध्यान दिएर काम गर्ने अध्यक्ष घिमिरेले बताउनुभयो । पैसाको अभावमा पढ्न नसकेकाहरुलाई निशुल्क पढ्ने व्यवस्था गरिने उहाँले बताउनुभयो ।
४ कोठे भवन निर्माण सम्पन्न भएर फर्निचरको व्यवस्थापन भएपनि माथिल्लो तला निर्माणको लागी आगामी आर्थिक वर्ष बजेट विनियोजन भएर सो काम सम्पन्न भएपछि मात्रै क्याम्पसको पठनपाठन नयाँ भवनबाट संचालन हुने छ । सबै भवन निर्माण सम्पन्न भएर पठनपाठन संचालन हुन अझै १ वर्ष लाग्ने अध्यक्ष घिमिरेले बताउनुभयो ।