रामेछापको रामेछाप नगरपालिकामा भूमि समस्या समाधानका लागी भूमि समस्या समाधान आयोग जिल्ला समिति रामेछापले अभिमुखीकरण तथा अन्तरक्रिया कार्यक्रम गरेको छ । कार्यक्रमका प्रमुख अतिथी समेत रहनुभएका रामेछाप नगरपालिका प्रमुख लबश्री न्यौपानेले अहिलेको आयोगले तिव्रताका साथ काम गर्नुपर्ने बताउनुभयो । विगतमा आयोगहरु बन्ने तर काम चाहिँ नहुने गरेको भन्दै उहाँले अहिलेको अयोगले जुनसुकै अवस्थामा पनि काम गरेर देखाउनुपर्ने बताउनुभयो ।
उहाँले नगरपालिकाले द्रुत गतिमा भूमि समस्या समाधानको काम गरेको भन्दै अब सुकुम्बासीलाई छिटो भन्दा छिटो लालपुूर्जा वितरण र अव्यवस्थित बसोबासीलाई व्यवस्थित गर्नमा सबै लाग्नुपर्ने बताउनुभयो । नगरपालिकाको सबै वडामा लगत संकलनको काम सकिएको भन्दै नगर प्रमुख न्यौपानेले यहि असार मसान्तसम्म लालपूर्जा वितरण गर्ने गरि काम थाल्नुपर्नेमा जोड दिनुभयो ।
कार्यक्रममा रामेछाप नगरपालिकाका उपप्रमुख बाल कुमारी कार्की,नगरपालिकाका प्रवक्ता समिर कार्की र विभिन्न राजनीतिक दलका प्रमुख एवं प्रतिनिधीहरुले सबै एक भएर लागेको खण्डमा कामले तिव्रता पाउने बताएका छन । उनिहरुले जिल्लाको ८ वटै पालिकाहरुमध्ये रामेछाप नगरपालिका पहिलो हुनेगरी काम गर्नुपर्नेमा जोड दिएका हुन । यसका लागी भूमि समस्या समाधान आयोग जिल्ला समितिको भूमिका निकै महत्वपूर्ण हुने उनिहरुको भनाई छ ।
भुमि समस्या समाधान आयोग जिल्ला समिति रामेछापका अध्यक्ष गौतम लामाले आफु दोश्रो पटक अध्यक्षको नियुक्ति पाएर काम गर्न पाउँदा खुशी लागेको बताउनुभयो । जिल्लाको अरु पालिकाको तुलनामा रामेछाप नगरपालिकाले भूमि समस्या समाधानको लागी धेरै काम गरेको बताउनुभयो । भूमिहीन दलित, भूमिहीन सुकुम्बासी तथा अव्यवस्थित बसोबासी सम्बन्धि समस्या समाधानका लागि अब निरन्तर कामहरु हुने र छिट्टै लालपूर्जा वितरणको काम गरिने अध्यक्ष लामाले बताउनुभयो । अहिले भूमि आयोगको प्रकृया एकदमै पार्दशी रहेको भन्दै उहाँले छुटेकाहरुलाई पनि समेटेर लिएर जान फेरी एक पटक सूचना आह्वान हुने बताउनुभयो ।
भूमि समस्या समाधान आयोग जिल्ला समिति रामेछापका विज्ञ सदस्य मिलन कुमार घिसिङले आयोगले गर्ने काम,प्रकृया,चरणहरु,कानूनी आधारहरु, स्थानिय तहको जिम्मेवारी,जिल्ला समितिको जिम्मेवारी लगायतको बारेमा जानकारी गराउनुभयो । रामेछाप नगरपालिकामा एक हजार ३४ जना अव्यवस्थित बसोबासी र ५ जना भूमिहीन सुकुम्बासीको लगत संकलन भएको छ । भूमि समस्या समाधान आयोग जिल्ला समिति रामेछापले रामेछाप नगरपालिकाबाट काम सुरु भएको जनाएको छ ।