८ महिनामा रामेछाप नगरपालिकाको विकास खर्च जम्मा १३ दशमलव ४५ प्रतिशत

८ महिनामा रामेछाप नगरपालिकाको विकास खर्च जम्मा १३ दशमलव ४५ प्रतिशत

रामेछापको रामेछाप नगरपालिकाको विकास खर्च न्यून देखिएको छ । चालु आर्थिक वर्ष २०८१÷८२ को आठ महिनामा नगरपालिकाले चालु तर्फ ४४ दशमलव ०९ प्रतिशत र पुँजीगततर्फ १३ दशमलव ४५ प्रतिशत बजेट खर्च गरेको हो ।

नगरपालिकाले चालु आर्थिक वर्षको साउनदेखि फागुन महिनासम्म जम्मा बजेट ७६ करोड ८८ लाख ६९ हजार ५ सय ५१ रहेकोमा २६ करोड ७ लाख ५५ हजार ६ सय ९४ रुपैयाँ अर्थात ३३.९१ प्रतिशत रकम खर्च गरेको हो ।

सो कुरा आईतबार(आज) रामेछाप नगरपालिकाले आयोजना गरेको सार्वजनिक सुनुवाई कार्यक्रमा नगरपालिकाका प्रमुख प्रशासकिय अधिकृत भोला प्रसाद चापागाईले प्रस्तुत गर्नुभएको प्रगति प्रतिवेदनमा उल्लेख गरिएको छ ।

प्रमुख प्रशासकिय अधिकृत चापागाईले यो अवधिसम्म चालु तर्फ ५१ करोड ३७ लाख ३ हजार ७ सय २३ रुपैया बजेट रहेकोमा २२ करोड ६४ लाख २३ हजार १ सय ८ रुपैया अर्थात ४४ दशमलव ०९ प्रतिशत बजेट खर्च भएको बताउनुभयो । पुँजीगत तर्फ २५ करोड ५१ लाख ६५ हजार ८ सय २८ रुपैया बजेट रहेकोमा ३ करोड ४३ लाख ३२ हजार ५ सय ८६ रुपैया अर्थात १३ दशमलव ४५ प्रतिशत बजेट खर्च भएको प्रमुख प्रशासकिय अधिकृत चापागाईले बताउनुभयो । यो अवद्यिसम्म नगरपालिका तथा वडाले विभिन्न शिर्षकमा ७० लाख ७८ हजार राजश्व संकलन गरेको छ ।

सार्वजनिक सुनुवाई कार्यक्रममा सहभागी नागरीकहरुले प्रश्न,जिज्ञासा सहित सुझाव सल्लाह दिएका थिए । नागरीकले शिक्षा,स्वास्थ्य,कृषि,सडक,पशुपालन र विकास निर्माणका कामहरुसँग सम्बन्धित प्रश्न गरेका थिए । नागरीकहरुले सोधेको प्रश्नको जवाफ नगरपालिकाका प्रमुख लबश्री न्यौपाने,प्रमुख प्रशासकिय अधिकृत भोला प्रसाद चापागाई र सम्बन्धित वडाका वडाअध्यक्षले दिएका थिए ।

उक्त कार्यक्रममा पत्रकार महासंघका अध्यक्ष दिपक घिमिरे ,रास्वपाका नेता दुर्गा बहादुर बस्नेत,माओवादी केन्द्रका नेता भिम बहादुर तामाङ्ग,नेकपा एमालेका नगर अध्यक्ष रोशन पाख्रिन र नेपाली कांग्रेसका नगर सचिव सुशिलहरी बख्रेलले नगरपालिकालाई विभिन्न सुझाव सहितको मन्तव्य राख्नुभयो । उहाँहरुले नगरले गर्ने हरेक कामहरु निस्पक्ष र पार्दर्शी हुनुपर्ने बताउनुभयो ।

हजुरको रेडियोले सहजीकरण गरेको सार्वजनिक सुनुवाइ कार्यक्रममा रामेछाप नगरपालिका प्रमुख लबश्री न्यौपाने,उपप्रमुख बाल कुमारी कार्की,नगर प्रवक्ता समिर कार्की ,विभिन्न कार्यालयका प्रमुख एवं प्रतिनिधी,विभिन्न राजनीतिक दलका प्रमुख एवं प्रतिनिधी,वडाअध्यक्षहरु,पत्रकार,नगरपालिकाका कर्मचारी,नागरीक लगायतको उपस्थिती रहेको थियो । सार्वजनिक सुनुवाई कार्यक्रमकै अवसर पारेर स्वास्थ्य,कृषि,पशु,आयूर्वेद र जेष्ठ नागरीक परिचय पत्र वितरण जस्ता विविध सेवाहरु संचालन गरिएको थियो ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार