रामेछाप जिल्लामा पहिलो पटक धार्मिक तथा ऐतिहासिक पर्यटकीय स्थलहरूको फोटो प्रदर्शनी गरिएको छ । जिल्लाका विभिन्न धार्मिक तथा ऐतिहासिक पर्यटकीय स्थलहरूको प्रचार गर्न राष्ट्रिय फोटो पत्रकार समूह रामेछापले मन्थलीमा फोटो प्रदर्शनी आयोजना गरेको हो ।
नेपाल आदिवासी जनजाति पत्रकार महासंघ (फोनिज) बाग्मती प्रदेशको तेस्रो प्रदेश महाधिवेशन उद्घाटन कार्यक्रमको अवसरमा प्रदर्शनी आयोजना गरिएको राष्ट्रिय फोटो पत्रकार समूह रामेछापका अध्यक्ष मिलन वि.कले बताउनुभयो ।
मन्थलीको तीनलाल पार्कमा राखिएको प्रदर्शनीमा रामेछाप जिल्लाको धार्मिक, ऐतिहासिक तथा पर्यटकीय महत्व झल्कने फोटाहरू राखिएको थियो । जिल्लाको ८ वटै स्थानिय तहहरुमा रहेका ५० भन्दा बढी मुख्य मुख्य धार्मिक, ऐतिहासिक तथा पर्यटकीय स्थलहरुको फोटो प्रदर्शनीमा राखिएको हो ।
यो फोटो प्रदर्शनीले जिल्लामा रहेका धार्मिक तथा ऐतिहासिक पर्यटकीय स्थलहरूको प्रचार गर्न महत्वपूर्ण भूमिका खेलेको सहभागीहरुले बताएका छन । राष्ट्रिय फोटो पत्रकार समूह रामेछापले फोटोको माध्यमबाट जिल्लाको प्रचार प्रसार र पर्यटन प्रवद्र्धनमा सहयोग गर्न विभिन्न कार्यक्रमहरु आयोजना गर्दै आएको छ ।