४३ औँ राष्ट्रिय मगर एकता दिवसको अवसरमा रामेछापमा लोप हुँदै गएको तुरधासी प्रतियोगिता तथा मौलिक साँस्कृतिक कार्यक्रम गरिएको छ । बिहिबार रामेछाप नगरपालिका ६ सिमल भन्ज्याङमा उक्त कार्यक्रम सम्पन्न भएको हो ।
नेपाल मगर संघ रामेछाप नगर समितिको आयोजनामा भएको कार्यक्रममा रामेछाप नगरपालिका भित्रका ७ वटा तुरधासी समुहले सहभागीता जनाएका थिए । मगर समुदायको भेषभूषा र बाजागाजा सहित प्रस्तुत गरिने मौलिक साँस्कृतिक नाच तुरधासी प्रतियोगिता पहिलो पटक आयोजना गरिएको हो ।
उक्त प्रतियोगितामा देउराली लाम्टे मगर समुह प्रथम हुँदै नगद २० हजार रुपैया पुरस्कार प्राप्त गरेको छ । देवि गाउँ मगर समुह प्रतियोगितामा द्धितिय हुँदै नगद १५ हजार रुपैया पुरस्कार प्राप्त गरेको हो । लाङ्गाली समुह प्रतियोगितामा तृतिय हुँदै नगद १० हजार रुपैया पुरस्कार प्राप्त गरेको छ ।
प्रतियोगितामा सहभागीता जनाएका सबै समुहहरुलाई नगद ५/५ हजार रुपैया प्रदान गरिएको थियो । कार्यक्रमका प्रमुख अतिथी समेत रहनुभएका रामेछाप नगरपालिका प्रमुख लबश्री न्यौपानेले पुरस्कार प्रदान गर्नुभयो ।
सो कार्यक्रममा बोल्दै उहाँले विभिन्न कारणले लोपोन्मुख रूपमा रहेको मगर समुदायमा प्रचलित सालैजो, झ्याउरे, कौडालगायत लोकसंस्कृतिको जगेर्ना गर्न, नयाँ पुस्तालाई मगर भाषा तथा सांस्कृतिक, ऐतिहासिक पक्ष, रीतिरिवाज रहनसहनबारे जानकारी गराउन यस्तो कार्यक्रमले महत्वपूर्ण सहयोग पुर्याउने बताउनुभयो ।
यो कार्यक्रम आयोजना गर्न नगरपालिकाले पनि सहयोग गरेको उहाँले बताउनुभयो । कार्यक्रममा लोपोन्मुख रूपमा रहेको मगर समुदायमा प्रचलित मारुनी नृत्य समेत प्रस्तुत गरिएको थियो । नेपाल मगर संघ रामेछाप नगर समितिका अध्यक्ष जित बहादुर मगरको अध्यक्षतामा कार्यक्रम भएको हो ।