रामेछापको रामेछाप नगरपालिकाले शारीरिक रूपमा अपाङ्गता भएका नगरका १ सय ६६ जनालाई जाडोमा ओढ्ने न्यानो कपडा बल्याङकेट वितरण गरेको छ । नगरपालिकाका उपप्रमुख बाल कुमारी कार्कीले वडावडामै पुगेर बल्याङकेट वितरण गरिरहनुभएको हो । अपाङ्गता भएका नगरका नागरीकहरुले जाडोमा ओढ्ने बल्याङकेट माग गरे अनुसार वितरण गरिएको उपप्रमुख कार्कीले बताउनुभयो ।
महिला,बालबालिका तथा जेष्ठ नागरीकहरुले नगरपालिकाबाट विभिन्न सेवा सुविधाहरु पाउँदै आउनुभएको भएपनि अपाङ्गता भएका व्यक्तिलाई खासै केही सुविधा दिन नसकेको उहाँले बताउनुभयो । स्थानिय सरकार छ है भन्ने महसुस गराउन यस्ता कार्यक्रमहरुले महत्वपूर्ण भूमिका खेल्ने उपप्रमुख कार्कीको भनाई छ । अपाङ्गता भएका नगरका नागरीकहरुको गुनासो सम्बोधन हुने गरी विभिन्न कामहरु भैरहेको र आगामी दिनहरुमा पनि हुने उहाँले बताउनुभयो ।
बल्याङकेट वितरणसँगै उनिहरुको परिवारका सदस्यलाई अभिमुखीकरण कार्यक्रम समेत गरिएको छ । ९ वटा वडाहरु रहेको नगरपालिकाको २ र ४ बाहेक सबै वडाका अपाङ्गता भएका नागरीकहरुलाई बल्याङकेट वितरण गरिएको हो । अब बाँकी २ वडामा पनि बल्याङकेट वितरणसँगै अभिमुखीकरण कार्यक्रम हुने नगरपालिकाकी महिला विकास निरिक्षक सरिता बुढाथोकीले जानकारी दिनुभयो ।
उहाँका अनुसार वडा नं वडा नं १ मा १५ जना, ३ मा २२, ५ मा २७, ६ मा २३, ७ मा २७, ८ मा ३० र ९ नम्बर वडामा २२ जना क र ख वर्गका अपाङ्गता भएकाहरूलाई यो जाडोमा ओढ्ने न्यानो कपडा बल्याङकेट वितरण गरिएको छ । जाडोमा समयमा ओढ्ने न्यानो कपडा बल्याङकेट पाएपछि नागरीकहरु पनि खुशी भएका छन ।