रामेछापको गोकुुलगा गाउँपालिकाको गाउँ सभा तथा १६ औ अधिवेशन बुधबार (आज) सम्पन्न भएको छ । गाउँपालिकाको सभा हलमा गाउँपालिकाका अध्यक्ष काजी बहादुर खड्का (दिनेश) ले चालु आर्थिक वर्षको हालसम्म भएको कामहरुको प्रगती बारेमा जानकारी गराउनुभयो ।
उहाँले चालु आ/वको पाँच महिनामा भएको कामहरुको बारेमा गाउँ सभामा जानकारी गराउनुभयो । चालु आ/वको कुल विनियोजित रकम रु ५४ करोड ५६ लाख १४ हजार ४ सय ५१ रहेकोमा चालु आ/वको पौष २४ गतेसम्म रु १३ करोड ५६ लाख ६२ हजार १ सय ३१ रुपैया मात्र खर्च भएको छ ।
जुन कुल विनियोजन बजेटको २४.८७ प्रतिशत रहेको गाउँसभामा गाउँपालिकाका उपाध्यक्ष उषादेवी कार्कीले बताउनुभयो । गाउँपालिकाको समग्र खर्च प्रतिशतलाई हेर्दा चालु खर्च तर्फ ३५.७२ प्रतिशत र पुँजीगत खर्च तर्फ ७.२५ प्रतिशत मात्रै बजेट खर्च भएको छ ।
हालसम्म पालिकाको आर्थिक विकास तर्फ ३.४६ प्रतिशत,समाजिक विकास तर्फ ३७.९२ प्रतिशत,पूर्वाधार विकास तर्फ ८.९२ प्रतिशत,सुशासन तथा अन्तरसम्बन्धित क्षेत्र तर्फ ९.१ प्रतिशत र कार्यालय संचालन तथा प्रशासनिक क्षेत्रमा ३४.८१ प्रतिशत खर्च भएको छ ।
राजश्व आम्दानी तर्फ चालु आ/व मा अघिल्लो आ/व को मौज्दात सहित ३ करोड ९७ लाख ८१ हजार ३ सय ५० रुपैयाको लक्ष्य राखिएकोमा हालसम्म २ करोड २५ लाख ९० हजार ४ सय ८६ रुपैया राजश्व उठेको बताइएको छ ।
गाउँ सभाबाट चालु आर्थिक वर्षको हालसम्म भएको कामहरुको प्रगती प्रतिवेदन र संसोधित अनुमान सहितको बजेट पनि पारित भएको छ ।
सम्वृद्ध गोकुलगंगा गाउँपालिका बनाउने गरी विकासका कामहरु भैरहेको गाउँपालिकाका अध्यक्ष काजी बहादुर खड्का (दिनेश)ले बताउनुभयो । यसको लागी सबैको भूमिका महत्वपूर्ण हुने उहाँको भनाई छ ।