रामेछापको रामेछाप नगरपालिका वडा नं ७ सुकाजोरले निशुल्क नागरिकहरुको स्वास्थ्य बिमा गरिदिएको छ । ९ सय २७ घरधुरी रहेको यस वडामा हालसम्म ५ सय भन्दा बढी घरपरिवारको स्वास्थ्य बिमा वडाले निशुल्क गरिदिएको वडाअध्यक्ष समिर कार्कीले बताउनुभयो ।
सरकारले हरेक नागरिकलाई स्वास्थ्य बिमाको पहुँचमा पुर्याउने भने पनि आर्थिक अवस्था कमजोर भएका नागरिकले स्वास्थ्य बिमा गर्न सकेका छैनन्। तर सुकाजोर वडाले वडाका सबै नागरिकलाइ स्वास्थ्य बिमामा आबद्ध गराउने लक्ष्यका साथ काम गरिरहेको छ । आगामी आर्थिक वर्षसम्म वडाका सबै नागरिक स्वास्थ्य बिमामा आबद्ध हुने वडा अध्यक्ष कार्कीले बताउनुभयो ।
वडाले टोल अनि बस्तीमै पुगेर नागरिकहरुको निशुल्क स्वास्थ्य बिमा गर्दै आएको छ । यो वर्ष वडाको पालेवन टोलबाट स्वास्थ्य बिमा गर्ने कार्यक्रम तिव्र रुपमा भैरहेको वडाअध्यक्ष कार्कीले बताउनुभयो ।
आर्थिक अभावमा स्वास्थ्य बिमा गर्न नसकेको अवस्थामा वडा कार्यालयले नै पैसा तिरिदिएर आफ्नो परिवारको स्वास्थ्य बिमा गरिदिएकोमा धेरै नै खुसी लागेको स्थानीयले बताएका छन् ।
यस वडाले पशु बिमा,एक घर एक हिलटेक वितरण,किसानलाइ निशुल्क रासायनिक मल वितरण,छात्रवृत्ति वितरण र घरघरमै पुगेर सामाजिक सुरक्षा भत्ता वितरण गर्ने जस्ता लोकप्रिय कार्यक्रमहरु गर्दै आएको छ ।