रामेछापको गोकुलगंगा गाउँपालिका वडा नं ३ रस्नालुमा रहेको भिम आधारभूत विद्यालय रस्नालुमा प्रारम्भिक बालविकास सिकाई मेला हुने भएको छ । प्रारम्भिक उमेरका सम्पूर्ण बालबालिकाहरुको सर्वाङ्गीण बालविकासको अधिकार सुनिश्चितताको लागी अभिभावक,स्याहारकर्ता समुदाय र सरोकारवाला निकायहरुको सचेतनापूर्ण भूमिका बढ्ने हेतुले प्रारम्भिक बालविकास सिकाई मेला संचालन गर्न लागिएको बताइएको छ ।
यहि मंसिर २२ गते शनिबार बिहान ९ः३० देखी दिउँसो ३ः३० सम्म मेला संचालन हुने सेतो गुराँस राष्टिय बाल विकास सेवाले जानकारी दिएको छ । उक्त मेलामा नाटकद्धारा उचित स्याहार सम्बन्धी जनचेतना जागरण,प्रारम्भिक बालविकासमा बुबाको जिम्मेवारी, प्रारम्भिक बालविकासको महत्व सम्बन्धी दोहोरी गित प्रदर्शन हुनेछ ।
त्यसैगरी बालबालिकाहरुको फेस पेन्टिङ्ग,अभिभावक र बालबालिकाहरुसँग खेल र क्रियाकलाप (भाषा,सीप,सिकाई सम्बन्धि प्रारम्भिक गणित सीप सिकाई सम्बन्धित,विज्ञान सीप सिकाई सम्बन्धी) विभिन्न कुराहरु सिकाईने छ ।अभिभावक र बालबालिकासंगसँगै बालकथा वाचन,सिर्जनात्मक सीप सिकाई सम्बन्धी क्रियाकलाप,बालविकास राष्टिय मापदण्ड अनुरुप नमुना बालविकास केन्द्र तथा सिकाई क्रियाकलापको प्रदर्शन र परम्परागत बालबालिका राम्रा अभ्यास प्रदर्शन हुने बताइएको छ ।