रामेछापको उमाकुण्ड गाउँपालिकामा भएको पाँचौँ पालिका स्तरीय राष्ट्रपति रनिङ शिल्डको उपाधि चण्डेश्वरी माविले जितेको छ । वडा नं. ४ स्थित चण्डेश्वरी माध्यमिक विद्यालयले लगातार तेस्रो पटक उपाधि उचाल्न सफल भएको हो ।
बुधवारदेखी पालिकाको वडा नं २ बाम्तिभण्डार स्थित शिद्देश्वर माध्यमिक विद्यालयको खेल मैदानमा सुरु भएको प्रतियोगितामा भलिबल, कबड्डी र एथलेटिक्स गरी ३० वटा इभेन्टमा २४६ जना विद्यार्थीहरू बिच प्रतिस्पर्धा भएको थियो । सो प्रतिस्पर्धामा १० स्वर्ण, ६ रजत र २ कांस्य पदक जित्दै चण्डेश्वरीले पाँचौँ राष्ट्रपति रनिङ शिल्डको उपाधि उचालेको हो ।
त्यस्तै ८ स्वर्ण, ९ रजत र ७ कांस्यसहित वडा नं ६ गुप्तेश्वर स्थित कैलेश्वर माध्यमिक विद्यालय दोस्रो भएको छ । विजेता चण्डेश्वरीले नगद २० हजारसहित ट्रफि, मेडल र प्रमाण पत्र प्राप्त गरेको छ । उपविजेता कैलेश्वरले नगद १५ हजारसहित मेडल र प्रमाणपत्रमा चित्त बुझाएको छ ।
४ स्वर्ण, ७ रजत र ३ कांस्य पदक जित्दै वडा नं ३ कुँबुँकाँस्थली स्थित जनता माध्यमिक विद्यालय तेस्रो भएको छ । जनताले नगद १० हजारसहित मेडल र प्रमाणपत्र प्राप्त गरेको छ । वडा नं २ बाम्तिभण्डार स्थित शिद्देश्वर माध्यमिक विद्यालयले २ स्वर्ण, ६ रजत र ६ कास्य पदक जितेर सान्त्वनामा चित्त बुझाएको हो ।
विजेताहरूलाई गाउँपालिकाका अध्यक्ष शेरबहादुर सुनुवार, उपाध्यक्ष सावित्री सुनुवार र वडा अध्यक्षहरूले पुरस्कार वितरण गर्नुभयो ।