दशौं संस्करणको ‘नमुनादीप कप’ भलिबल प्रतियोगिताको दोस्रो दिन लिग चरणका खेल जारी छ। लिखु तामाकोशी गाउँपालिका-२ सैपुस्थित अरुणोदय माविको मैदानमा भएको आजको पहिलो खेलमा लिखु तामाकोशीले मेलुङ गाउँपालिकालाई सोझो सेटमा पराजित गरेको छ। लिखु तामाकोसी २५-२१ र २५-१९ ले विजयी भएको हो। दोस्रो खेल गोकुलगंगा गाउँपालिका र अरुणोदयमा माविबीच जारी रहेको छ।
आजै मन्थली नगरपालिका र लिखु गाउँपालिका बी, साघुँटार युवा क्लब र चम्पादेवी गाउँपालिका, मेलुङ गाउँपालिका र लिखु गाउँपालिका ए बीच प्रतिस्पर्धा हुनेछ।
प्रतियोगितामा रामेछाप, ओखलढुंगा, दोलखा र सोलुखुम्बु जिल्लाका १२ टिम सहभागी छन्। आइतबार भएको अरुणोदयमा मावि रामेछापलाई लिखु पिके गाउँपालिका सोलुखुम्बुले सोझो सेटमा हराएको छ। दोस्रो खेलमा लिखु गाउँपालिका ‘सी’ले २-१ सेटमा मन्थली नगरपालिकालाई पराजित गरेको हो। अन्तिम खेलमा साँघुटार युवा क्लब रामेछापले तामाकोशी गाउँपालिका, दोलखालाई सोझो सेटमा पराजित गरेको थियो।
अध्यक्ष राजन बस्नेतका अनुसार रामेछापबाट मन्थली नगरपालिका, लिखु तामाकोशी गाउँपालिका, गोकुलगंगा गाउँपालिका, साघुँटार युवा क्लब र अरुणोदय मावि रहेका छन्। यसैगरी ओखलढुंगाबाट चम्पादेवी गाउँपालिका र लिखु गाउँपालिकाका ३ वटा टिम सहभागी छन्। दोलखाबाट तामाकोशी गाउँपालिका र मेलुङ गाउँपालिका, सोलुखुम्बुको लिखु पिके गाउँपालिकाले प्रतियोगितामा भाग लिएका छन्।
प्रतियोगिताको विजेता टोलीले ट्रफीसहित १ लाख १ हजार ५ सय, उपविजेता टोलीले ७५ हजार ५ सय र तेस्रो हुने टोलीले ५० हजार ५ सय प्राप्त गर्ने सहसचिव निरज पौडेलले जानकारी दिनुभयो। नमुनादीप युवा क्लबले आयोजना गरेको पालिकास्तरीय भलिबल प्रतियोगिताको उद्घाटन ऊर्जा, जलस्रोत तथा सिंचाइ राज्यमन्त्री पूर्णबहादुर तामाङ (कान्छाराम)ले आइतबार गर्नुभयो । मंगलबार एमाले बागमती प्रदेश सदस्य रत्न गौतम पुरस्कार वितरण समारोहमा सहभागी हुनुहुनेछ ।
क्लबले पालिकास्तरीय प्रतियोगितालाई राष्ट्रियस्तरका खेलाडी उत्पादन गर्न सघाउन पुर्याउने विश्वास व्यक्त गरेको छ।