बीपी कोइरालाको स्मृति दिवसको अवसरमा रामेछापमा १ सय ५० वटा रुख रोपियो

बीपी कोइरालाको स्मृति दिवसको अवसरमा रामेछापमा १ सय ५० वटा रुख रोपियो

नेपाली काँग्रेस रामेछापले प्रथम जननिर्वाचित प्रधानमन्त्री विश्वेश्वरप्रसाद कोइराला (बीपी) को ४२ औँ स्मृति दिवस रुख रोपेर मनाएको छ ।

तामाकोशी सेवा समितिको परिसरमा मोरिङ्गा प्रजातिको १ सय ५० वटा विरुवा रोपिएको नेपाली काँग्रेस रामेछापका कार्यवहाक सभापति लेख बहादुर कार्कीले बताउनुभयो । रोपिएको विरुवाहरु हुर्काउने जिम्मेवारी तामाकोशी सेवा समितिले लिएको उहाँले बताउनुभयो ।

जिल्ला सदरमुकाम मन्थली स्थित विपीको शालिक सरसफाई सहित माल्याणपण कार्यक्रम पनि गरिएको कार्यवहाक सभापति कार्कीले बताउनुभयो । नेपाली काँग्रेसका महासमिति सदस्य एवं पूर्व जिल्ला उपसभापति ध्रुवहरी ढुंगेलको प्रमुख आतिथ्यतामा भएको कार्यक्रममा नेपाली काँग्रेसका नेता,कार्यकर्ताहरुको उपस्थिती रहेको थियो ।

नेपालमा प्रजातन्त्रको स्थापनाका लागि कठोर सङ्घर्ष गरेका विपी कोइरालाको विसं २०३९ साउन ६ गते निधन भएको थियो । उहाँको नेपाली साहित्यका क्षेत्रमा पनि महत्वपूर्ण योगदान रहेको छ । कोइरालाको जन्म १९७१ भदौ २४ गते भएको हो ।

विसं २०१५ को संसदीय निर्वाचनपछि २०१६ जेठमा कोइराला पहिलो निर्वाचित प्रधानमन्त्री बन्नुभएको थियो । नेपाली साहित्यमा मनोवैज्ञानिक यथार्थवादी धाराका प्रवर्तक कोइरालाका डेढ दर्जन कृति प्रकाशित छन् । नेपाली काँग्रेसले हरेक वर्ष साउन ६ गते विपीको स्मृति दिवस विभिन्न कार्यक्रम गरेर मनाउँदै आएको छ ।

 

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार