मन्थली नगरको पर्यटन प्रवर्धनका लागि बहस र पैरवी

मन्थली नगरको पर्यटन प्रवर्धनका लागि बहस र पैरवी

रामेछापको सदरमुकाम समेत रहेको मन्थली नगरपालिकाको पर्यटन प्रवर्धनका लागि बहस र पैरवी कार्यक्रम गरिएको छ । शनिवार राष्ट्रिय फोटो पत्रकार समूह¸ नेपाल जिल्ला शाखा रामेछापको प्रथम वार्षिक उत्सवको अवसरमा आयोजना गरिएको मन्थली नगरको पर्यटन प्रवर्धनका लागि बहस र पैरवी विषयक कार्यक्रममा सम्पन्न भएको हो ।

कार्यक्रमको प्रमुख आथिती समेत रहनुभएका बागमती प्रदेश सांसद एवं बागमती प्रदेश सभा उद्योग, पर्यटन तथा वातावरण समिति सभापति समेत रहनुभएका आनन्द कुमार श्रेष्ठले मन्थली नगरपालिका पर्यटन विकासका लागि ठुलो सम्भावना बोकेको नगरपालिका भएकाले यहाँको पर्यटन विकासका लागि पूर्वाधार निर्माण लगायत आवश्यक कार्य गर्न लागि पर्ने प्रतिबद्धता जनाउनुभयो । मन्थली विमान स्थलबाट वर्षमा दुई सिजनमा भइरहेको लुक्ला उडानलाई थप व्यवस्थित बनाउन र मन्थली–काठमाडौँ नियमित उडानको व्यवस्था गर्न थप पहल गर्ने पनि उहाँले बताउनुभयो ।

कार्यक्रमको विशिष्ट आथिती समेत रहनुभएका मन्थली नगरपालिकाका प्रमुख लब श्रेष्ठले मन्थली नगरपालिका रामेछाप जिल्लाकै ठुलो पर्यटकीय सम्भावना बोकेका नगर भएको बताउनुभएको छ । आन्तरिक तथा बाह्य पर्यटकका लागि मन्थलीमा केही छैन भन्नेहरू प्रति इङ्गित गर्दै नगर प्रमुख श्रेष्ठले मन्थलीमा पर्यटकका लागि आवश्यक के चाहिँ छैन र भन्दै प्रश्न गर्नुभयो ।उहाँले सरोकारवाला निकायसँग आवश्यक बहस, छलफल र सुझावहरू लिएर नगरपालिकाले पर्यटन विकासका लागि पूर्वाधार निर्माण लगायतका अन्य कामहरू पनि गरिरहेको बताउनुभयो ।

नगरपालिकाभित्र पर्यटक आवागमन बढाउ सम्भावना बोकेका धार्मिक तथा पर्यटकीय स्थलहरूमा सम्भाव्यता अध्ययन गरी आवश्यक पूर्वाधार निर्माण गर्दै जाने नगरको योजना रहेको उहाँले बताउनुभयो ।यसका लागि नगरका सबै १४ वटै वडाहरूमा रहेका धार्मिक तथा अन्य सम्भावना भएका स्थलहरूको पहिचान गरी नगरपालिका अगाडी बढेको उहाँको भनाइ छ ।

नगरपालिकाको पर्यटन विकासका लागि नगरले बनाएको योजना पूर्ण कार्यान्वयनका लागि आवश्यक सहयोग गर्न सरोकारवाला सबैलाई नगर प्रमुख श्रेष्ठले आग्रह पनि गर्नुभयो । वर्षको दुई सिजनमा लुक्ला उडान भइरहेको मन्थली विमान स्थलको थप व्यवस्थापन र मन्थली–काठमाडौँ नियमित उडानका लागि पनि मन्थली नगरपालिकाले लामो समय देखि आवश्यक पहल कदमी लिइरहेको नगर प्रमुख श्रेष्ठको भनाइ छ ।लुक्ला उडानका लागि सडक मार्ग हुँदै मन्थली आउने विदेशी पर्यटकलाई कम्तीमा एक दिन मन्थली बस्ने र घुम्ने वातावरण निर्माण लागि नगरपालिका गम्भीर भएर लागेको उहाँले बताउनुभयो ।

सरोकारवाला बिच ७ बुद्धे प्रतिबद्धता  : 

मन्थली नगरपालिकाको पर्यटन विकासका लागि सरोकारवाला बिच ७ बुद्धे प्रतिबद्धता भएको छ । प्रतिविद्धतामा काठमाडौँ मन्थली नियमित उडान भर्न सरोकारवालालाई पुनः ध्यानाकर्षण गराउने¸ मन्थली नगरपालिकाको र रामेछापको पर्यटन प्रवर्धनका लागी रामेछाप उद्योग वाणिज्य सङ्घले स्थानीय सरकारसँग आवश्यक समन्वय गर्ने¸ मन्थलीमा टुरिस्ट स्टान्डरका होटेल निर्माणका लागि पहल गर्ने¸ बजार अनुगमनलाई थप प्रभावकारी बनाउने प्रतिबद्धता भएको छ । भने कार्यक्रममा मन्थली विमानस्थलमा पर्यटकको लागि सहायता कक्षको स्थापन गर्ने¸ मन्थलीका होटेल सम्बन्धी कार्यविधि बनाई थप व्यवस्थित गर्न सहयोग गर्ने र मन्थली नगर क्षेत्रका धार्मिक¸ऐतिहासिक र पर्यटकीय क्षेत्रको विकासका लागि सञ्चार माध्यमले सकारात्मक प्रचार प्रसार गर्ने प्रतिबद्धता भएको छ ।

प्रतिबद्धता पत्रमा बाग्मती प्रदेश सभाका सदस्य आनन्द कुमार श्रेष्ठ¸ मन्थली नगरपालिकाका नगर प्रमुख लव श्रेष्ठ¸ नेपाल पत्रकार महासङ्घ रामेछापका अध्यक्ष बद्री नयाँघरे¸ जिल्ला प्रशासन कार्यालय रामेछापका नायव सुब्बा लक्ष्मण भुजेल¸नागरिक उड्यान प्राधिकरण रामेछापका प्रमुख हिरण शाह ¸ रामेछाप उद्योग वाणिज्य सङ्घका महासचिव कुमार श्रेष्ठ र होटेल तथा पर्यटन व्यावसायिक सङ्घ रामेछापका निवर्तमान अध्यक्ष शेखरमान श्रेष्ठले हस्ताक्षर गर्नु भएको थियो ।

कार्यक्रममा सहभागीले पर्यटन मैत्री वातावरण बनाउन¸ मन्थली बजारका होटेल तथा गेस्ट हाउसलाई टुरिस्ट स्टान्डरका बनाउन सुझाव दिएका थिए भने मन्थली नगर भित्र पदमार्ग निर्माण गर्न र मन्थली बिमानस्थालाई नियमित सञ्चालनका लागि पहल गर्नु पर्ने सुझाव दिएका थिए । त्यसै गरी मन्थली नगर भित्र पर्यटकीय संरचना बनाउन¸ होमस्टे सञ्चालन गर्न¸ तामाकोसीमा र्यफ्टिङ् सञ्चालन गर्न समेत सुझाव दिएका थिए ।

कार्यक्रम राष्ट्रिय फोटो पत्रकार समूह नेपालका अध्यक्ष मिलन घिमिरेको अध्यक्षता तथा बाग्मती प्रदेश सभाका सदस्य आनन्द कुमार श्रेष्ठको प्रमुख आतिथ्यमा सम्पन्न भएको थियो ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार